
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ पुरानो पुस्तालाई लागि गरेर होइन शिक्षा लिएर कम्युनिस्ट पार्टीलाई जनताको पार्टी बनाउनु पर्ने बताएका छन् । उनले सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने अभियान चलाउनुपर्ने समेत बताए ।
आज वुटवलमा बेपत्ता तथा सहिद प्रतिस्ठाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रभाकरले २०७४ सालमा नेकपा गठन गर्दा नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको थियो । तर सत्ता स्वार्थका कारण झन्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भएको बताए । उनले यसमा कसैलाई व्यक्तिगत आरोप लगाउन भन्दा पनि पार्टीभित्र अलोकतान्त्रिक गतिबिधिका कारण, वैचारिक अभावका कारण समस्या आएको बताए ।
कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य भएको बताउँदै पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो गर्न तयार हुनुपर्ने बताए । ‘कम्युनिस्ट पार्टीको पुनर्संरचना अनिवार्य छ । त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ’ प्रभाकरले भने ।
प्रभाकरले नाम नलिएपनि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक विचार र सत्ता स्वार्थकै कारण तत्कालिन नेकपा विघटन भएको बताए । उनले पार्टीलाई आफ्नो बिर्ता जस्तो ठानेका कारण कम्युनिस्ट पार्टीभित्र समस्या देखिएको दाबी समेत गरे ।