
नेपाल रिपब्लिक मिडियाअन्तर्गत नागरिक दैनिक प्रतिष्ठान शाखाकाे संयाेजकमा हेमराज भट्टराई चयन भएका छन् । नागरिकमा कार्यरत पत्रकार, कर्मचारीलगायतकाे भेलाले शुक्रबार भट्टराईकाे नेतृत्वमा १३ सदस्ययीय कार्य समिति चयन गरेकाे हाे ।
समितिमा जगत प्रजापति सहसंयाेजक, अरविन्द मानसिंह सचिव, तेजनारायण महर्जन कोषाध्यक्ष चयन भएका छन् भने समिति सदस्यहरूमा राजेन्द्र मानन्धर, राजन तिमल्सेना, गणेश श्रेष्ठ, स्मृति ढुंगाना, राजेन्द्र शाक्य, अमिन तुलाधर, नविन महर्जन, बेबिना श्रेष्ठ र अनुप ज्योति चित्रकार रहेका छन् ।
श्रमजीवी पत्रकार संघका राष्ट्रिय अध्यक्ष जन्मदेव जैसीले कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई शपथग्रहण गराएका थिए । सफल कार्यकालकाे शुभकामना प्रदान गर्दै उनले श्रमजीवीहरूका पक्षमा इमानदार र कर्तव्यनिष्ठ भइ कार्य गर्न सल्लाह दिएका थिए । भेलामा नवनिर्वाचित संयाेजक भट्टराइले नागरिक प्रतिष्ठान शाखामा मात्र नभइ मिडिया क्षेत्रमा अहाेरात्र खटिरहेका र श्रम शाेषणमा परेका श्रमजीवीहरूका पक्षमा डटेर लागि पर्ने बताए ।
नेपाल रिपब्लिक मिडिया लि. मा हाल श्रमजीवी पत्रकार ऐन लागु नहुँदा श्रमजीवी पत्रकारले धेरै अन्याय खेप्नुपरिरहेको छ । सर्वसाधारणलाई सेयर बेचेर पहिलो पब्लिक कम्पनी बनेको नेपाल रिपब्लिक मिडियाले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई करिब ८ महिनादेखि तलब दिएकाे छैन । व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने माग उठाएपछि त्यसको नेतृत्व गर्नेहरूप्रति क्रमशः प्रतिशोध साँध्न थालेपछि कर्मचारीले कामै अवरुद्ध गरेका छन् । कम्पनीको व्यवस्थापन र सम्पादकले श्रमजीवी पत्रकारमाथि लगातार गरेका दुर्व्यवहारले कतिपय पत्रकार तथा कर्मचारी हैरान भएर जागिर छाेड्न बाध्य भएकाे भएको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । उक्त कम्पनीमा कार्यरत कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनअन्तर्गतका कुनै सुविधा दिइएको छैन ।
स्थायी कर्मचारीको सञ्चय कोष काटिने गरेको छैन भने उनीहरूबाट उठाइएको करसमेत साहूहरूले आफैँ खाँदै आएका छन् । त्यसैगरी सरकारले पत्रकारका लागि तोकेको न्यूनतम पारिश्रमिकसमेत कम्पनीले उपलब्ध गराएको छैन । यसबाहेक छाडेर जानेलाई उपदानसमेत नदिइ धम्क्याएर पठाउने गरिएको छ ।
ऐनले व्यवस्था गरेको कर्मचारी कल्याण कोष, बिमा, औषधोपचार, बिदा जस्ता सुविधासमेत उपलब्ध छैन । पब्लिक कम्पनीका रूपमा ऐनले गर्नैपर्ने भनेका प्रावधान लागु नगर्ने तर उल्टै कर्मचारीलाई भने विविध बहानामा प्रतिशोध लिएर हैरान पारेको गुनासो लिएर पत्रकारहरू श्रमजीवी-पत्रकार संघलगायत विभिन्न सम्बन्धित निकायमा धाइरहेकाे अवस्था छ । अदालतले गरेको निर्णयसमेत सम्पादकको दबाबमा व्यवस्थापनले लत्याइरहेको छ । यिनै माग सम्बोधन गराउन व्यवस्थापनको ध्यानाकर्षण गराउन पुगेका पत्रकारलाई एमडी समृद्धि ज्ञवाली र सम्पादक गुणराज लुइँटेलले हप्काइदप्काइ दुर्व्यवहार गरेका थिए । गत असार ३ गते उनीहरूले यसरी माग लिएर जाने पत्रकारलाई छाड्ने कि बस्ने तत्काल कित्ता प्रष्ट पार्न, राजनीति नगर्न र अरूलाई नभाँड्न भन्दै धम्क्याएका थिए ।
एकातिर छाडेर जान्छु भन्नेलाई श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेबमोजिम सुविधा दिन पनि नमान्ने अर्कोतिर मासिक १५/१६ हजारमा ८ घण्टा काम गर्नैपर्छ भन्नु शोषणको चरम हद भएको पीडित पत्रकारले बताउने गरेका छन् । त्यही तलब पनि ८ महिनादेखि दिइएको छैन । त्यसअगाडि दिइएको तलब पनि मनलाग्दी अर्थात काटेर दिइएको एक डिजाइनरले गुनासो गरे ।
यो कम्पनीमा कोरोनाको बेलादेखि सम्पादकको चाकडी गर्ने केहीबाहेक कसैले पनि पूरा तलब पाएको छैन जबकि त्यतिबेलै कर्मचारीलाई दिन र अन्य व्यवस्थापन मिलाउन भनेर सरकारले सस्तो ब्याजदरमा दिएको पैसा २० करोड यहाँ पनि भित्र्याइएको थियो तर त्यो कहाँ गयो भन्ने पत्रकारलाई पत्तो छैन ।
अहिले नागरिकका कर्मचारीलाई यसरी प्रताडित गर्ने र श्रम शोषण गर्नेमा प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली र सम्पादक गुणराज लुइँटेल मुख्य रूपमा देखिएका छन् । एक पत्रकारले बताएअनुसार सम्पादक व्यवस्थापनभन्दा पनि चर्कोरूपमा पत्रकारलाई दुर्व्यवहार गर्नेमा अग्रपंक्तिमा देखिएका छन् । पत्रकारसँग कुनै पनि कुरा डिल गर्न ज्ञवाली परिवार आफैँ अघि नसर्ने र सम्पादकलाई लगाइदिने गर्छन् ।
उनले सबै आफूले ठीक पार्ने ठेक्का लिँदै पत्रकारलाई निरन्तर हप्काउने, थर्काउने, कारबाही गराउने जस्ता काम गर्दै आएका छन् ।