
वायुसेवा निगमलाई नेपाल रुटमा सर्वश्रेष्ठ एयरलाइन्सको प्रतिष्ठित अवार्डद्वारा सम्माननीत गरिएको छ। भारतको नयाँ दिल्लीमा आयोजीत दसौ इन्टरनेसनल टुरिजम कनस्लेभ एण्ड ट्राभल्स एवार्ड ( आइ टि सी टि ए ) २०२५ को अवसरमा शनिबार आइ सी एम समूह अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्त रूपमा निगमलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रत्येक वर्ष पर्यटन तथा उड्यन क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउने प्रतिष्ठित संस्थाहरू मध्येबाट छनौट गरि अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुने आइ टि सी टि ए अवार्ड समारोहको यस संस्करणमा भारत सरकारका वरिष्ठ अधिकारीहरू, पर्यटन बोर्डका प्रतिनिधिहरू, अग्रणी टुर अपरेटरहरू, भारतीय तथा अन्तर्राष्ट्रिय उड्यन क्षेत्रका प्रमुख व्यवसायीहरु लगायत सम्बन्धित विज्ञहरूको सक्रिय तथा गरिमामय उपस्थिति रहेको समारोहमा नेपाल वायुसेवा निगमको तर्फबाट. दिल्लीस्थित कार्यालयका प्रतिनिधिहरू कमल ज्ञवाली, रमन निरौला र भानुभक्त कटुवाल लगायत सहभागी भई निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गर्नुभएको थियो ।
यस सम्मानले नेपालको राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप मजबुत बनाएको छ । साथै, नेपाल-भारतबीचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृद्ध गर्न योगदान पुऱ्याउनुका साथै सुरक्षित, भरपदों र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने निगमको प्रतिवद्धतामा थप प्रेरणा तथा हौसला प्रदान गरेको छ ।