
काठमाडौं । नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन् । कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ ।
ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन् । उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पु¥याएको जनाएका छन् ।
संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन् । वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए ।
तर, व्यवसायीहरुको गुनासो अनुसार, विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गरी ‘गुण्डागर्दी शैली’मा कवाड व्यवसायी, संकलक मजदुरमाथि कुटपिट, अपहरण तथा संरचनाहरू भत्काउनेजस्ता कार्य गर्दै आएको छ । केही घटनामा मजदुरको टाउको फुट्ने र अङ्गभङ्गसमेत भएको जनाइएको छ ।
व्यवसायीहरुले मेयर बालेन्द्र शाहमाथि पनि गम्भीर आरोप लगाएका छन् । ज्ञापनमा भनिएको छ, ‘मेयर शाहले काठमाडौंबाट गरिब र श्रमिक वर्गलाई हटाउने नीति लिएका छन्,’ र यो नीति प्रतिगामी भएको उनीहरुको भनाइ छ ।
कवाड व्यवसायी समाज नेपालले सरकारसँग व्यवसायीको ज्यान–मालको सुरक्षा सुनिश्चित गर्न, कुटपिट र संरचना भत्काउने कार्य तत्काल रोकिन, तथा श्रमिकहरूमाथि भइरहेको ज्यादतीको छानबिन गर्न आग्रह गरेको छ ।