
धनगढी । सुदूरपश्चिम प्रदेश सभा अन्तरगत सार्वजनिक लेखा समितिको सभापतिमा अक्कल बहादुर रावल निर्विरोध निर्वाचित भएका छन् । सचिवालयका अनुसार रिक्त चाररवटै संसदीय समितिका सभापति निर्विरोध निर्वाचित हुन लागेका छन् ।
समितिको सभापतिको लागि आइतबार उम्मेदवारी दिने समय तोकिएको थियो । दलीय सहमतिका आधारमा एकएक जनाको मात्रै उम्मेदवारी परेकोले चारै समितिका सभापति निर्विरोध निर्वाचित हुन लागेका हुन् । औपचारिक रुपमा घोषणा हुन मत्रै बाँकी रहेको छ ।
हाल ज्येष्ठ सदस्यको भरमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा एकएक जनाको उम्मेदवारी परेको हो ।
त्यस्तै नयाँ गठन गरिएको विशेषाधिकार समितिमा पनि एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
सार्वजनिक लेखा समितिमा नेकपा माओवादी केन्द्रका अक्कल बहादुर रावल, सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटाको उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आज आइतबार बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोध र १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी दिउँसो १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।