काठमाडौं । सत्तारुढ नेकपा(माओवादी) केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह‘बालेन’ले आफ्नो संगठनले विद्यालयहरुमा लगाएको ताला खोलेकोप्रति आक्रोशित हुँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरुको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको आरोप लगाएका छन् ।
संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्घन्द निम्त्याउन खोजेको आरोप लगाउँदै भने,“खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठूलो मुल्य चुकाउनु पर्छ ।” गरिब, जेहेन्दार र अल्पसंख्यकहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्धा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृतिको व्यवस्था भएको र त्यस विरुद्ध कोही पनि जानु घातक हुने चेतावनी दिए । विगतमा मेयर साह पनि अखिल(क्रान्तिकारी)को सदस्य रहँदा गरिब र किसानका छोराछोरीको पक्षमा वकालत गरेको तर आज चटक्कै भुलेर उनिहरुमाथि नै घात गर्न थालेका आरोप लगाए । आज तिनै गरिव माथि निरन्तर खनिनु दुर्भाग्य भएकोमा प्रश्न गर्दै भने,“तपाईले उनिहरुको आवाज सुन्न पर्दैन ? गरिबका छोराछोरीले १० प्रतिशत छात्रवृत्ति पाउँदा तपाइलाई केको टाउको दुखाई भयो ?” चन्दा नदिएकोले आन्दोलन गरेको भन्ने आरोपलाई खण्डन गदै भने, ‘यदि हाम्रो संगठनलाई कहीँ कतैबाट चन्दा नदिँदा आन्दोलन गरेको प्रमाण भए पेश गर्नुस् सजाय भोग्न तयार छौं ।’
सो संगठन काठमाडौं जिल्ला समिति इन्चार्ज यादब ढुङगानाले काठमाडौं भित्रका विद्यालयहरुले काठमाडौं भित्रका विद्यालयहरुले दिने १० प्रतिशत छात्रवृतिको नामावाली प्रकाशित गर्ने मागलाई वेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको धारणा राखे । आन्दोलनलाई वेवास्ता गरेको बताउँदै भने,“संगठनलाई बार्तामा नबोलाई बालेनले महानगर पुलिस लगाएर ताला फोडे अब यसको परिणाम भयानक हुन्छ ।” गरिव र जेहेन्दार विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्छ भन्दा बीचमा मेयरसाब आउनुहुन्छ, के अब हामीसँग निहु खोज्नु नै भएको हो त, ढुङगानाले प्रश्न गरे ।
उपत्यका विशेष प्रदेश अध्यक्ष सन्जिब रेग्मीले अटेर गरेर आफूहरुका मागहरु सम्बोधन नगरे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सम्पूर्ण नगर तथा महानगरपालिकालाई वैज्ञानिक शुल्क निर्धारण गर्न ध्यानाकर्षण गर्ने, विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको विवरण शैक्षिक संस्थामा नामावली सहित प्रकाशन गर्न अनुरोध गर्ने अन्यथा सम्बधित स्कुल,कलेजका गाडीहरु महानगर बाहिर चल्न नदिने । संस्कृति, वृहस्पति र युलेन्स लगायतका विद्यालयहरुलाई जनकारवाही गर्ने ।
विद्यालयमा संचालित छात्रावासमा विद्यार्थीहरुको मृत्यु, यातना जस्ता अपराधिक क्रियाकलाप र घटना देखिएकाले यसको नियमन र अनुगमनको व्यवस्था गर्नुपर्ने । अन्यथा संगठन आफैले अनुगमन गर्ने । विद्यार्थीहरुको संगठित हुने अधिकारमाथि हमला गर्ने प्रवृत्तिका विरुद्ध पनि प्रतिरोध गर्ने ।, कालो ब्यानर तथा कालो झण्डा विद्यालयको प्राङ्गणमा राख्नेलगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
सो पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मण बस्नेत,उपाध्यक्ष जनक ढुङगाना, काठमाडौं महानगर संयोजक भरत महतरा, गोकर्णेश्वर नगरपालिका संयोजक अश्मिता खत्री, बुढानिलकण्ठ नगरपालिका अध्यक्ष विरुरुम्बा लामा, काठमाडौं महानगर सहसंयोजक सुबोध डोटेल, बौद्ध बहुमुखी क्याम्पस स्ववियू सभापति जीवन तिरुवा, वश्वनिकेतन इकाई इन्चार्ज प्रमेश नेपाल, सो कलेज इकाई अध्यक्ष इमानसिं ठेकर लगायतको उपस्थिति रहेको थियो ।