
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सरकारले अयोग्य व्यक्तिहरु नियुक्त गरेको भन्दै संयुक्त संघर्ष समितिले खारेजीको माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन मार्फत ऐन मिचेर गरिएको नियुक्ति प्रक्रिया बदरको लागि सर्बोच्च अदालतमा रिट हालेकोसमेत समितिले जानकारी दिएको हो ।
संघर्ष समितिका संयोजक जीवन थापाले सरकारद्वारा गरिएका कुलपति लगायतका नियुक्ति प्रचलित ऐन तथा कानुन मिचेर गरिएकोले त्यसलाई बदर गरि नीति र विधि अनुसार गर्न माग गरेका छन् । संयोजक थापाले नाम सिफारिस समितिले झ्यालबाट छिरेर राम्रा भन्दा आफ्ना मान्छे प्रवेश गराएको आरोप लगाउँदै भने, “प्रज्ञा प्रतिष्ठानमा योग्य भन्दा अयोग्य ब्यक्तिहरु आएपछि हामीले सरकारसँग सूचना माग्यौं तर सूचना पनि सहि नदिनु भनेको गड्बढी पुष्टि भएको छ ।
संघर्ष समितिका सल्लाहकार तथा नाटककार बिजय विष्फोटले प्रचलित ऐन तथा कानुमा नियुक्ति प्रक्रिया प्रष्ट भए पनि त्यसलाई लत्याएर सरकार अघि बढेको आरोप लगाए । विष्फोटले नियुक्ति बारे प्रधानमन्त्री प्रचण्डलाई नै जनकारी नभएको बताउँदै भने,“नियुक्तिको मुख्य अधिकार प्रधानमन्त्रीको हो, तर उहाँलाई नै सम्बन्धित पक्षले यसबारे जनकारी नै नदिनु झन् ठूलो भूल हो ।” त्यसैगरी सामाजिक अभियान्ता तेजराज भूजेलले रंगकर्मी तथा कलाकार देशका गहना भए पनि
राज्यले समय आएपछि वास्तविक कलाकारलाई नचिन्नु दुःखद भएको बताए । संघर्षसमितिका सह–संयोजक किशोर अनुराग अधिकारीले यस्ता ठाउँमा समस्या आउनुको मुख्य कारण राजनीतिक नियुक्ति भएपनि ऐनमा रहेर योग्य व्यक्ति ल्याउँदा विवाद नहुने धारणा राखे ।
रंगकर्मी गणेश उपाध्यायले प्रेस विज्ञप्ती बाचन गरेका थिए ।