आज :

डेढ महिने छोरीलाई दुध चुसाएर ३ घण्टा हिडिन ऋचा, मोबाइलमा मेसेज छोडेर नारायणीमा हाम फालेपछि..

  • अनलाइन डबली

झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् ।

शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।

त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् ।

त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।

‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो ।

आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।

ऋचाले किन लिइन् यस्तो निर्णय ?
ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।

ऋचा कान्तिपुर सीटी कलेज (केसीसी)बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद् खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।

एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रेशन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् ।’ शिलापत्रबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal