आज :

तीजको ब्रत तोड्न नपाइ कहिले नउठ्नेगरी निदाए दीपा र मनिषा, शोकमा डुब्यो गाउँ

  • अनलाइन डबली

काठमाडौँ । तीजको उल्लासमा दिनभर एकै ठाउँमा भेला भई नाचगान गरी पूजाको लागि घरतर्फं फर्किंदै गरेकाहरूमाथि चट्याङ पर्दा दुई किशोरीको ज्यान गएको छ।

मंगलबार बेलुका साढे ६ बजेतिर नाचगान सकेर ब्रतालु दिदी-बहिनीहरू घरतर्फ पूजा आराधनाका लागि फर्कंदै गर्दा स्थानीय कुलवीर बुढाको घरनजिकै चट्याङ परेको थियो। जसका कारण १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनिषा शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान प्रहरीसँगै वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षत्रीअनुसार उनीहरू घोराही उपमहानगरपालिका वडा नं. १२ गुरौं गाउँको डाँडोमा भेला भई नाचगान गरेका थिए।

सँगै रहेका अन्य नौ जना महिला दिदी बहिनी पनि बेहोस भएर भुइँमा लडेको अवस्थाले गाउँमा ठूलो बज्रपात परेको भनेर स्थानीयले आफूलाई खबर गरेको वडाध्यक्ष क्षत्रीले बताए।

घाइते थप चार जनालाई डोकोमा बोकेर घोराही बजारस्थित अस्पताल ल्याउन थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। घटनाका चार जना मध्यम खाले घाइते भएका छन्। उनीहरू १५ बर्षीया निरुता शाह, २० वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यमसरी थापा र ३८ वर्षीया यमकुमारी शाह हुन्।

प्रहरीका अनुसार उनीहरू सबै बोल्ने सक्ने अवस्थाका छन्। तीबाहेक अन्य पाँच जनाको अवस्था सामान्य छ। सुरूमा प्रहरीले थप १२ जना घाइते रहेको बताए पनि पछि नौ जनामात्रै घाइते रहेको जानकारी दिएको छ।

दाङ र रोल्पाको सीमाना क्षेत्र गुरौं गाउँमा पुग्न प्रहरीलाई पैदल चार घन्टा लागेको डिएसपी गौतमले बताए। ‘पहाडको अप्ठ्यारो भूगोल छ,’ डिएसपी गौतमले भने, ‘त्यसैले घाइतेलाई डोकोमा राखेर बोकेर ल्याउनुपर्ने अवस्था छ।’

मृतकको शव पनि डोकोमै बोकेर पोष्टमर्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउन थालिएको उनले जानकारी दिए। बाटो नभएको ठाउँसम्म सबैलाई डोकोमा बोकेर ल्याउन र बाटो भएको ठाउँसम्म प्रहरी र नगरपालिकाको गाडीले अस्पतालसम्म ल्याउने तयारी गरिएको छ।

घटनाबारे बुधबार बिहानमात्रै वडाध्यक्ष द्रोणबहादुर बहकरीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलतर्फ प्रहरी खटाइएको थियो। प्रहरी बिहान १० बजे मात्रै घटनास्थल पुगेको थियो। त्यसअघिसम्म विकट ठाउँ भएको हुँदा प्रहरी र वडाध्यक्षलाई समेत फोन सम्पर्क हुन सकेको थिएन।

वडाध्यक्ष क्षत्रीले तीजको उल्लासमा निराहार ब्रत बसेर छरछिमेकका महिला दिदी बहिनी डाँडोमा भेला भई नाचगान गरी घरतर्फ फर्कने समयमा परेको चट्याङले दुई किशोरीको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको बताए।

घटनापछि स्थानीयलाई सम्झाउन बुझाउन निकै कठिन भइरहेको उनले बताए। चट्याङले दुई किशोरीको मृत्युपछि उल्लासको समयमा गाउँ घर सबैलाई आँसुमा डुबाएको उनले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal