
काठमाडौँ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् ।
राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर १ देखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उता कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो । सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो ।
वीरगञ्ज महानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाको मत गणना गर्नुपर्नेछ । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि आउन ढिलो गरेका कारण मतगणना कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । दलका प्रतिनिधिहरु ढिलोगरी आउँदा बिहान ८ बजे राखिएको सर्वदलीय बैठक पनि डेढ घण्टा पछि सुरु भएको थियो ।
सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको थियो । र मतगणना ११ बजेदेखि गर्नेगरी सहमति भएको थियो । तर राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
‘बिहान ८ बजे राखिएको सर्बदलीय बैठक पनि साढे ९ बजे मात्रै सुरु गर्न सकियो’ उनले भने, ‘ राजनीतिक दलका प्रतिनिधि साथीहरु आउन ढिलाइ भएकोले मतगणना कार्य सुरु गर्न सकिएको छैन । यसले गर्दा हामीलाई अप्ठेरो भइरहेको छ ।’
दलका प्रतिनिधि आइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रारम्भ भएको सूचना जारी गरेर मतगणना सुरु गर्नेछ । ढिलोमा साढे १२ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।