वैशाख । मतदान सकिएलगत्तै बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
त्यहाँ वैशाख ३१ गते बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो । मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट रोक्न कर्फ्यू लगाइएको प्रशासन कार्यालयको भनाइ छ ।
यसैबीच सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।
देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि २०-२५ स्थानमा विवाद भएको थियो । त्यसबेला पुलिङ सेन्टर बाहिर झडपका घटनाहरु भएका थिए ।
यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ । सुरक्षा कमजोरीका कारण राजनीतिक दलका कार्यकर्ता अराजक भएको निर्वाचन आयोगको निष्कर्ष छ ।
पटक-पटक सुरक्षा घेरा कमजोर हुन्छ कि भन्ने प्रश्न उठाएको थियो, र सामान्य, मध्यम, संवेदनशील, अति संवेदनशीलसहित पाँच तहको सुरक्षा वर्गीकरण गर्र्नुपर्नेमा जोड दिएको थियो । तर अहिले तीन तहको मात्र वर्गीकरण भयो । आयोगले म्यादी प्रहरी भर्नामा पनि भूपू सुरक्षाकर्मीलाई प्राथमिकता दिन भनेको थियो । तर म्यादी प्रहरीमा धेरै नयाँ आए ।
२०७४ मा भन्दा अहिले राजनीतिक ध्रुवीकरण चर्को छ । त्यहीबेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष छ । यसले मत नै कम खसेको भन्दै आयोगका अधिकारीहरुले भनेका छन्, ‘यतिको भइसकेपछि शान्तिपूर्ण भन्न सकेनौं, सामान्य रुपमा निर्वाचन भयो भन्ने हाम्रो निष्कर्ष छ ।’
यद्यपि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आम रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । तर कतिपय ठाउँमा उम्मेदवारहरुको विवाद, सामान्य विषयमा पनि विवाद झाँगिंदै जाँदा मतदान स्थलहरुमा झडप तथा तनाव भएको उनले बताए ।