आज :

सिन्धुपाल्चोकको ज्यामिरेमा तनाव, नियन्त्रणमा लिन सेनाले चाल्यो यस्तो कदम

  • अनलाइन डबली

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिए ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । उता रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।

सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।

ठाडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए । त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।

दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्रबहादुर विष्टले बताए । थप विवरण आउन बाँकी छ ।

उता बाराको पचरौता नगरपालिका-२ स्थित मतदान केन्द्रमा नेकपा एमाले र जसपा कार्यकर्ताबीच झडप भएको छ। मत खसाल्ने विषयमा बरगाछी र लक्ष्मीपुरको मतदान केन्द्र बाहिर दुबै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ शेल अश्रु ग्यास प्रहार गरेको बाराका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए। एसपी देउवाका अनुसार बाराकै देवताल गाउँपालिका–७ मा पनि मतदानका क्रममा झडप भएको छ।

दुई पक्षबीच विवाद हुँदा झडप भएको हो। झडपका क्रममा १ जनाको टाउको फुटेको एसपी देउवाले जानकारी दिए। त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ।

सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशील केन्द्र हुन्। झडपपछि यी केन्द्रहरूमा मतदान रोकिएको एसपी देउवाले बताए ।

उता भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय आधारभूत मावि कृष्णपुरमा गठबन्धनले मतदातालाई नमूना मतपत्र बाँडेपछि होहल्ला भएको छ।

महानगरको मेयर पदमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल मतदानका लागि निर्वाचन केन्द्र पुग्दा मतदाताले गठबन्धनले नमूना मतपत्र बाँडेको भन्दै निर्वाचन आयोगमा उजुरी गरिदिन आग्रह गरेका थिए।

पौडेलले गठबन्धनले मतदान केन्द्रमै नमूना मतपत्र बाँडेर आचार संहिताको उल्लंघन गरेको भन्दै आवश्यक कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरे। उनले निर्वाचनमा जीत–हार सामान्य प्रक्रिया भए पनि गठबन्धनले जबर्जस्ती पेलेर धाँधली गरिरहेको आरोप लगाए।

मेयरका उम्मेदवार पौडेल मतदान केन्द्रमा पुग्दा फोटो खिच्न गएका पत्रकारलाई गठबन्धनका स्थानीय नेताहरूले क्यामेरा फुटाउने धम्की दिएका थिए। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेताहरू पौडेल भोट हाल्न पुग्दा आक्रोशित देखिन्थे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal