
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।
त्यस्तै वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।
निर्वाचन कार्यालयका अनुसार वर्षाका कारण नाम्खा गाउँपालिकाकाे महाबाैद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो ।
उता बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन्
त्यस्तै दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।
निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन ।
स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । गैरीमुदीका जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ ।
त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
वैत्यश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।