आज :

जनयुद्ध दिवसको अबसरमा क्रान्तिकारी माओवादीको मार्चपास, वैद्यले भने- जनयुद्धको बत्ति निभेको छैन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले २६ औं जनयुद्ध दिवसको अवसरमा युवा मार्चपास गरेको छ । पार्टीको बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको मार्चपास शान्तिबाटिकाबाट सुरु भएर पुरानो बसपार्क, सहिद गेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, विशाल बजार, असन इन्द्रचोक हुँदै पुनः शान्तिबाटिमा आएर सभामा परिणत भएको थियो । उनीहरुले जनयुद्ध जिन्दावाद, वीर अमर सहिदहरु लालसलाम, नयाँ जनवादी क्रान्ति जारी छ, संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र-जिन्दावादजस्ता नाराहरु लगाएका थिए ।

मार्चपासपछि जनसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले जनयुद्धको बत्ति ननिभेको र जनयुद्ध झण्डा नगिरेको बताए । “जनयुद्धको बत्ति निभेको छैन, जनयुद्धको झण्डा गिरेको छैन, क्रान्ति जारी छ” वैद्यले भने । छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बेला भएको वैद्यले बताए ।

वैद्यको सम्बोधनको क्रममा भने-  “नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि भनेर महान जनयुद्धको अभियान छेडियो । यस अवधिमा मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका जनताको विश्वास जित्न सफल भयौं । देशको विशला भूभागहरुमा आधार इलाकाहरुको निर्माण गरियो । यस अवधिमा हामीले सात डिभिजन जति जनमुक्ति सेना बनायौं । र, विश्वलाई समगरमाथाको देशबाट क्रान्तिको महान सन्देश दियौं । दशवर्षे जनयुद्ध नेपाली क्रान्तिको लागि मात्रै होइन विश्व क्रान्तिका निम्ति पनि एउटा महान ऐतिहासिक उद्घोष थियो । तर दुःखको कुरा पार्टीभित्र पैदा भएको दक्षिणपन्थी अवसरवाद र संशोधनवादले धोका दियो । तसर्थ, हामीले जनयुद्धको लक्ष्य पूरा गर्न सकेनौं । तैपनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता आंशिक उपलब्धि पनि जनयुद्धका उपलब्धि हुन् । अहिले तिनलाई पनि ध्वस्त पार्ने षड्यन्त्र भइरहेको छ । संसद विघटनसम्म आउँदा संसदीय व्यवस्था सम्पूर्ण रुपले असफल भइसकेको छ । मजदुर, किसान कसैका समस्या समाधान भएका छैनन् । महिलाहरु हत्या र बलात्कारका शिकार भइरहेका छन् । जनजातिहरुको नाम मात्रको संघीयता छ । मधेसी मुस्लिम लगायत जनसमुदायका हक अधिकारहरु स्थापित हुन सकिरहेका छैनन् । तसर्थ अब संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुको विकल्प छैन । त्यस निम्ति छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । जनताको जित निश्चित छ । यही कुराको बोध गर्नुमा नै २६ औ जनयुद्ध दिवसको मुख्य अर्थ र महत्व रहेको छ ।”

मार्चपास तथा सभालाई देजमोका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पीवीएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङ, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । पीवीएम पवनमान श्रेष्ठले अध्यक्षता गरेको सभाको सञ्चालन पीवीएम तथा प्रदेश सचिव सुरेश श्रेष्ठले गर्नुभएको थियो । सभामा स्वागत मन्तव्य क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटीले राखेका थिए ।

त्यसैगरी जनयुद्धको दिवसको अबसरमा वैद्यले एक विज्ञप्ति जारी गरेर जनयुद्ध दिवसको अबसरमा शुभकामना दिँदै सम्पूर्ण छरिएर रहेका क्रान्तिकारीहरुलाई गोलबन्द हुन आह्वान गरेका थिए । नेपाली क्रान्तिले धक्का खाएको तर क्रान्तिको प्रक्रिया नरोकिएको बताए । वैद्यले आफ्नो पार्टीले आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताए ।

यस्तो छ वक्तव्यको पूर्णपाठः

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विभिन्न कार्यक्रमहरु सहित आज देशभर महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सव मनाउन गइरहेको छ । यस ऐतिहासिक दिनमा हामी सर्वप्रथम नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, यस अवसरमा हामी नेपाली जनताले देखाएको त्याग, वीरता तथा बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दै सहिद एवम् बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाइचारा पार्टीहरु तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछौं ।

आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र बाह्य रुपमा साम्राज्यवादी तथा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा फड्का हान्ने उद्देश्य राखी आजको पच्चिस वर्ष पहिले तत्कालीन नेकपा (माओवादी)ले नेपालमा जनयुद्धको उद्घोष गरेको थियो । उक्त जनयुद्ध छोटै समयमा देशका विशाल ग्रामीण भूभागमा आधार इलाकाहरुको स्थापना र जनसरकारहरुको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, पार्टीको मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन तथा गद्दारीका कारण अहिले जनयुद्ध इतिहास बनेको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । त्यति मात्र होइन, झापा आन्दोलन र महान जनयद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु आज सत्ता एवम् सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् र देश असफल सिद्ध हुँदैछ । यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।

आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । हाम्रो पार्टी आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal