काठमाडौं । दाङका एक युवालाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
मोलुङ गाउँपालिका ३ का २७ वर्षिय सन्तोष कार्कीको घरैमा आएर हत्या गरेको अभियोगमा ३७ वर्षिय संजितकुमार थापालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलाशले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यलले जानकारी दिए ।
थापाले आफ्नी पत्निसँग अनैतिक सम्बध राखेको भन्दै ५ भदौ ०७५ मा मोलुङ ३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरि हत्या गरेका थिए । शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।
हत्या गरेर भागेका आरोपितलाई प्रहरीले १२ भदौ ०७५ मा दाङको भालुवाङबाट पक्राउ गरेको थियो । १३ भदौमा ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले क्रुर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन काराबासको सजाय माग दाबी गरे पनि क्रुर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकारको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भइ सजाय तोकिएको अदालतले जनाएको छ ।
अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए ।
