काठमाडौं । धनुषा स्थित सतलोक आश्रममा धार्मीक सहिष्णुता बिथोल्न सुनियोजित सांघातिक आक्रमण भएको ‘पूर्णब्रह्म कबीर उपासक समाज, नेपाल’ले आरोप लगाएको छ । शनिबार राजधानीको काठमाडौं स्थित संवाद डबलीमा समाजले पत्रकार सम्मेलन गरी घटनामा सम्लग्न दोषीहरुउपर कडा कारवाहीको समेत माग गरेको छ ।
समाजका अध्यक्ष कुमार डंगोलले आफूहरुले सञ्चालन गरेको आश्रममाथि भएको सांघातिक आक्रमण धार्मिक सहिष्णुता बिथोल्न सुनियोजित हमाला भएको आरोप लगाएका छन् ।
गत पुष २६ गते दिनको करिब ११ बजेको समयमा धनुषा जिल्लाको मिथिला नगरपालिका २, बेलाचापी स्थित सतलोक आश्रममा भक्तजनहरु शनिबारको विशेष सत्संग प्रवचन श्रवण गरिरहेको अवस्थामा आफूलाई हिन्दू सम्राट सेना बताउने एक हुल मान्छेहरुले भक्तजनहरुमाथि अन्धाधुन्द प्रहार गरेको अध्यक्ष डंगोलले बताए । घाईतेहरुलाई उपचारका लागि जनकपुर अस्पताल पठाउने क्रममा आक्रमणकारीहरुले बाटोमै एम्बुलेन्स रोकी थप आक्रमण गरेको जनाए ।
गम्भीर घाईते ११ जनामध्ये ५ जनालाई काठमाडौंमा उपचार गरिरहेको र बाँकी जनकपुर अस्पतालमा उपचार भइरहेको डंगोलले जानकारी दिए । डंगोलले मानवता विरोधी जघन्य अपराधमा सम्लग्न सम्पूर्ण दोषिहरुलाई तत्काल कारवाहीको माग गरेका छन् ।

आक्रमण भएको थाहा पाएपछि स्थानीय प्रहरी प्रशासन आएर परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै प्रहरी समक्ष जाहेरी दर्ता गर्न जाँदा आजको समयसम्म पनि जाहेरी नलिएको अध्यक्ष डंगोलले बताए ।
समाजका उपाध्यक्ष केशव प्रसाद मैनालीले धनुषा स्थित सतलोक आश्रममा भएको क्रुरता र कायरतापूर्ण आक्रमण भएको र त्यसमा ‘हिन्दु सम्राट सेना’ले गरेको आरोप लगाएका छन् । “सन्त रामपालजी महाराजको अनुयायीहरुलाई आक्रमण गर्ने तथाकथित हिन्दु सम्राट सेनालाई विश्व हिन्दू परिषदले समेत संरक्षण गरेको सुन्नमा आएको छ, त्यस्तो नहोस्” उपाध्यक्ष मैनालीले थपे ।

आश्रम सञ्चालक समिति सदस्य रमेश प्रसाद सापकोटाले धार्मिक द्वन्द मच्चाउने योजनासहित भएको आक्रमण सह्य नभएको बताएका छन् । सापकोटाले मानिसहरु विभिन्न धर्मिक समुदायमा विभाजित भए पनि सन्त रामपालजी महाराजले सम्पूर्ण मानवलाई एउटै सूत्रमा बाँधी भाईचारा, मानवता, शान्ति, समानता, बिकार तथा विसंगति रहित स्वच्छ समाज निर्माणका लागि प्रेरित गर्दै आएको जनाउँदै, सो आक्रमण मानवतामाथिको प्रहार भएको बताए ।
अर्का वक्ता उमराज ढकालले धर्मनिरपेक्ष राष्ट्रमा स्वतन्त्रापूर्वक धार्मिक आस्थाको संरक्षण गर्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुनेप्रति जोड दिए । नेपाल वैदिक सनातनी देवो तथा तपो भूमि भएको जनाए । नेपाल मात्र नभई विश्वभरीका मानिसका लागि शान्ति तथा मानवताको आकषर्ण केन्द्र भएको बताउँदै ढकालले भने,“बसुधैव कुटुम्बकमको अवधारणालाई व्यवहारमा उतार्दा मात्रै देशमा अमन शान्ति कायम हुन्छ ।”
आक्रमाणमा परेर गम्भीर घाईते भई उपचारका लागि काठमाडौं रिफर गरिएका घाईते योगेन्द्र दासले आफूहरुलाई आश्रममा हातहतियार प्रयोग गरेर सांघातिक हमला गरेको भन्दै पीडा व्यक्त गरे । सत्संग प्रवचन चलिरहेको बेला एकाएक आएका व्यक्तिहरुले ढुङगा–मुढा एबं लट्ठी–भाटाले अन्धाधुन्द प्रहार गरेको बताउँदै दासले भने,“आश्रममा त कुटेकुटे तर घाइते भएर उपचारार्थ एम्बुलेन्समा चढेर अस्पताल जाने क्रममा एम्बुलेन्ससमेत तोडफोड गरी हामीलाई थप प्रहार गरि सक्त घाइते बनाए ।”
घाइते दासले आफूसँगै रहेका राहुल दास, रञ्जित दास र त्रिदेव दासलगायतका ११ जना भक्तहरुलाई गम्भीर घाईते बनाएको र अरु बोल्न नसक्ने अवस्थामा रहेको पनि जानकारी दिए ।
उक्त समाजका विनोद घिमिरेले विश्व शान्ति कायम गर्ने अभियानका अभियान्ता जगत गुरु तत्वदर्शी सन्त रामपालजी महाराजको अश्रममा कुनै संगठनले द्वन्द तथा हिंसात्मक गतिविधि गराउने कार्य लज्जास्पद रहेको बताए ।
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका प्राध्यापक तथा सन्त रामपालजी महाराजका अनुयायी ई.महेन्द्र राज धितालले वैदिक सनातनमा भगवानको विधानलाई सर्वोपरि मानिने र सोही विधान अन्तर्गत साधना गर्ने साधकहरुमाथि गरिएको अमानविय हिंसाप्रति खेद प्रकट गरे ।


धनन्जय बुढा





