काठमाडौं। चुनावको मुखमा नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेको छ । महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको लागि अगाडि बढेपछि काँग्रेसभित्रको आन्तरिक विवाद सडकसम्म पुगेको हो ।
सभापति शेरबहादुर देउवाले चुनावको मुखमा महाधिवेशनमा जाँदा समस्या हुने भन्दै चुनावलगत्तै त्यसबारे निर्णय गर्ने बताउँदै आएका छन् । थापा र शर्माले आफू देउवाको हस्ताक्षरको टिकट वितरणको पक्षमा नभएको बताउँदै जबरजस्त विशेष महाधिवेशनमा जाने तयारीमा छन् ।
गगन–विश्व पक्षले यही पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसको लागि भृकुटीमण्डपमा हल बुकिङ गरिसकेका छन् ।
विवाद अन्त्यको लागि सभापति देउवाले विहीबार थापा र शर्मालाई छलफलमा बोलाएका थिए । उनिहरु छलफल नगएपछि देउवाले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ। विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका छन् ।
यदि थापा र शर्मा जबरजस्त विशेष महाधिवेशनमा गए काँग्रेस विभाजन हुने निश्चितजस्तै भएको छ । आजको बैठकले वारपार हुने बताइएको छ । महामन्त्री थापा र शर्माले बेमौसमा गनगन गरिरहेको काँग्रेसका नेताहरुले बताएका छन् ।


अनलाइन डबली


