काठमाडौँ । जेनजी आन्दोलनबाट सत्ताच्युत भएको नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । उसले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री शुसीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको हो ।
रिट दर्तापछि एमाले नेता महेश बर्तौलाले संसदीय दलको तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको जानकारी दिए । रिट दर्ता गर्नेमा विघटित प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल रहेका छन्। यसअघि विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो।
एमाले प्रधानमन्त्री कार्कीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन पनि असंवैधानिक भएको उल्लेख गर्दै विघटन बदर गरी भदौ २४ गतेको स्थितिमा प्रतिनिधि सभा पुनर्स्थापना गर्न आदेश मागिएको छ।
त्यसैगरी एमालेले सुशीला कार्कीलाई असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्त गरिएको दाबी गरेको छ । रिटमा सुशीला कार्कीको नियुक्ति संविधानको धारा ७६ र १३२ विपरीत भएको भन्दै उनको प्रधानमन्त्री पद खारेज गर्न, राष्ट्रपतिद्वारा गरिएको नियुक्ति तथा त्यसपछि भएका सबै निर्णय बदर गर्न माग गरिएको बर्तौलाले बताए ।
एमालेले आजै प्रतिनिधिसभा चुनावको लागि दल दर्ताको निवेदन पेस गरेको छ। आज मंगलबार निर्वाचन आयोग पुगेर एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।
एमालेको दर्ता क्रमांक ६६औँ रहेको छ।


अनलाइन डबली


