
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयाेजक प्रचण्डले सुरक्षाकर्मी फिर्ता गरेका छन् । सरकारले यसअघि प्रचण्डको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयसँगै प्रचण्डले शुक्रबार विहान दुई दर्जनबढी सुरक्षाकर्मी फिर्ता पठाएका हुन् ।
शान्ति सम्झौतासँगै सुरक्षा खतराका आधारमा सरकारले प्रचण्डलाई अन्य नेताहरुभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो । सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले बढी खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले बिहीबार प्रचण्डको सुरक्षामा खटिएका ३४ सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी नेताहरुका अनुसार अब प्रचण्डको सुरक्षाको लागि पूर्वजनमुक्ति सेना खटिने भएका छन् । पार्टीले प्रचण्डलाई दुई घेराको सुरक्षा व्यवस्था गरेको छ ।
पहिलो घेरामा पूर्वजनमुक्ति सेनाको कमाण्डो र दोस्रो घेरामा पार्टीको युवा संगठन वाईसिएल ।
शान्ति प्रक्रियापछि पनि तत्कालिन जनमुक्ति सेनाको कमाण्डोले प्रचण्डको सुरक्षा गरेको थियो । पहिलो संविधान सभा निर्वाचनपछि प्रधानमन्त्री भएपछि सम्पूर्ण जनमुक्ति सेनाका सदस्यलाई अस्थायी ब्यारेकमा फिर्ता पठाइएको थियो ।
-फाइल फाेटाे