
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पक्राउ अभियानको प्रतिवादमा उत्रिएको छ । जेनजी युवाहरुले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै पक्राउ परी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै प्रहरीसमक्ष पुगेका थिए ।
त्यसको प्रतिवादको रुपमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुले मंगलबार जेनजी आन्दोलनका नेताको रुपमा उदाएका बालेन शाह र सुधन गुरुङविरुद्ध जाहेर दर्ताको लागि काठमाडौँ प्रहरी परिसर पुगेका छन् । उनिहरुको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भने गरेको छैन ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालका अनुसार जाहेरीमा जेनजी आन्दोलनका नाममा सिंहदरबारलगायत राज्यका महत्वपूर्ण संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएको भन्दै बालेन र सुधनलाई कारवाही माग गरिएको छ ।
प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको बडालले संचारकर्मीलाई बताए । उनले प्रहरीले २४ घण्टाको समय मागेकाले आफूहरु जाहेर छोडेर फर्किएको बताउँदै प्रहरीले लिने निर्णयपछि आफूहरुले पनि थप निर्णय गर्ने बताए ।
विद्यार्थीहरु कानूनी राज्यको पक्षधरभएकाले विधिको शासनको वकालत गर्दै आएको समेत बताए ।
त्यसअघि सुधन गुरुङको टोली ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेका थिए । प्रहरीले ओली र लेखकविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले बुझेको छ । प्रहरीले उक्त जाहेरी जेन जी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाएको छ ।