काठमाडौं । नेपालमा समलिंगी सम्बन्ध र विवाह ‘बाँदरलाई लिस्नु’ जस्तै भएको वक्ताहरुले बतएका छन् । सोमबार राजधानीको संवाद डबलीमा स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चाले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले विदेशीको इशारामा लादिएको समलिंगी विवाहलाई रोक्न आन्दोलनमा जानुपर्नेमासमेत जोड गरेका छन् ।
कार्यक्रममा नेकपा(माले) का कार्यबहाक महासचिव कुमार बेलबासेले देशको मौलिकतालाई प्रहार गर्न पछिल्लो पटक समलिंगी विवाहलाई अगाडी बढाईको आरोप लगाएका छन् । पूर्व श्रम मन्त्रीसमेत रहेका बेल्बासेले देशको भाषा–संस्कृति,चालचलन र आर्थिक परनिर्भतालाई थप बढावा दिने योजनासहित यस्ता एजेण्डा घुस्ने गरेको बताउँदै भने,“दौरा सुरुवाल र नेपाली टोपी लगाउने तर विदेशीका मान्छेहरुले देशलाई समलिंगी विवाहलाई मान्यता दिदैछन् ।”
मानव अधिकारकर्मी डा.केवी रोकायाले कानुन नबनी सर्बोच्च अदालतको एकल इजलासबाट समलिंगी विवाहलाई मान्यता दिन गरिएको अन्तरिम आदेशलाई अस्वीकार गर्नुपर्ने धारणा राखे । सरकारले योजनाबद्धरुपमा नेपाललाई समलिंगी पर्यटनको अन्तराष्ट्रिय केन्द्र बनाउने विषय गलत भएको बताउँदै भने,“जानकी मन्दिरलाई इन्टरनेस्नल वीडिङ हब, समलिंगी टुरिष्ट गाईड तालिम दिनु, संसदमा समलिंगी सांसद हुँदै राज्यका हरेक निकायमा आरक्षणको योजना देश ध्वस्त पार्ने पश्चिमा डिजानप्रति चनाखो हुनुपर्छ ।”
नेपाल समाजवादी काँगे्रसका अध्यक्ष गोविन्द निरौलाले पछिल्लो समय घनिभूतरुपमा युवा पलायनको विदेशी योजना कार्यान्वयन भइरहेको र समलिंगी विवाह देशलाई जनसंख्या घटाउने र पूर्ण परनिर्भर बनाउने दीर्घकालीन षड्यन्त्र भएको बताए । निरौलाले अमेरिकी परियोजना एम्सीसीमा पुरक सम्झौता नभए देशपूर्णरुपमा अमेरिकी पञ्जामा जाने पनि बताए ।
नेपाली काँग्रेस(विपी) का महामन्त्री देबेन्द्र पौडेलले समलिंगी विवाहलाई कानुनी मान्यता दिईए भविष्यमा देश नागरिक विहीन बन्ने चिन्ता व्यक्त गरे । पौडेलले देशलाई असफल बनाउने विदेशी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्नुपर्नेसमेत बताए ।
नेकपा(एमाले)का युवा नेता प्रकाश रोकायाले नेपालमा ठूला भनिने पार्टीका मुख्य नेताहरु, अदालतका न्यायाधिष र कर्पोरेट मिडियाहरु बिकेर समलिंगी विवाह र सम्बन्धलाई मान्यता दिन लगेको आरोप लगाए ।
आमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले अदालतको निर्णय भनेर देश र जनतालाई घात हुने विषयमा चुप बस्न नहुने बताउँदै भने,“यहाँ सबकासब विकाउ बने उनिहरुलाई तह लगाउन सडक आन्दोलन जरुरी छ ।”
नेकपा(माले)का स्थायी समिती सदस्य कृष्ण रानाले जनता नबोलुन भनेर देश कम्जोर पार्न समलिंगी विवाह र सम्बन्धरुपी मन्द विष हालिएको छ, यसलाई जसरी पनि रोक्नु पर्ने धारणा राखे ।
आयोजक स्वतन्त्र देशभक्त राष्ट्रिय मोर्चा नेपालका संयोजक दिनानाथ घिमिरेले अप्राकृतिक, संस्कृति, परम्परा र समाजविरुद्ध आएको समलिंगी सम्बन्धलाई जनताले राम्रोसँग बुझ्नु पर्ने र त्यसका लागि आफूहरुले निरन्तर खबर्दारी गर्ने बताए ।
आयोजक मोर्चाका सचिव विनोद देव पन्तले देशमा एकपछि आर्को गर्दै राष्ट्रघाति एजेण्डाहरु थोपरिनु दुर्भाग्य भएको बताए ।
नागरिक सरोकार नेपालका सचिव विदुर अधिकारीले न्यायालयमै घुसेर समाजलाई भत्काउने र नेपाली मौलिकतामाथिको प्रहारलाई कानुनी बाटोबाट पनि हल गर्नुपर्ने धारणा राखे ।