काठमाडौँ । बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति सेवाका लागि हिडेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ । घटनामा अन्य ३७ जना घाइते भएका छन् ।
बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ ।
उक्त गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यापारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।
यता अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती ब म आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।
सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले लिएको छ ।
आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् ।
सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।