
काठमाडौं । जेन्जी आन्दोलनपछि देश झनै खतराको दिशामा गएको भन्दै रक्षाको लागि राजासहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने वक्ताहरुले औंल्याएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले आयोजना गरेको कार्यक्रममा उनिहरुले शुसिला कार्कीको विगत भ्रष्टाचार र अनैतिक भएको अरोपसमेत लगाए ।
नेकपा(माले)का महासचिव सिपी मैनालीले हरेक पटकका संघर्षमा विदेशी निर्णायक रहँदै आएको र उनिहरुले राजा र दलहरुलाई अलग गरेर देश डुबाउने षड्यन्त्र गरेको ठोकुवा गरे । मैनालीले २००७ देखि ०६२÷६३ मा आएर राजतन्त्र सकाउन सफल भएको बताउँदै भने, “२०६३ को आन्दोलनमा दलहरुले राजा राख्ने सहमित गरिसकेका थिए तर विदेशीको दबाबमा राजतन्त्र फालियो, त्यसैको परिणाम देश झन अस्थिरतामा गयो र अब उनिहरुलाई देशको अस्तित्व मेटाउन सहज भएको छ ।”
अधिवक्ता स्वागत नेपालले जेन्जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी शुसिला कार्कीको विगत अनैतिक भएको र उनको सरकार पूर्णतः विदेशी कठपुतली भएको आरोप लगाए । ७६ जनाको ज्यान जाने गरी भएको जेन्जी आन्दोलनलाई विदेशीको इशारामा नाच्नेहरुले हाइज्याक गरेको आरोप लगाए ।
“जेन्जीहरुले जेन्जीको एजेण्डा विरोधी संविधानको रक्षा गरेका छन्, न उनिहरुले भने जस्तै कार्यकारी र भ्रष्टाचार मुक्त देश बन्छ, न त यो संविधानले देश बचाउँछ” अधिवक्ता नेपालले थपे । देश बचाउन राजतन्त्रसहितको कार्यकारी प्रधानमन्त्रीय व्यवस्थाको जरुरी भएको र सो व्यवस्थाको लागि जेन्जी स्तरकै आन्दोलन हुनुपर्ने धारणा नेपालले राखे ।
राष्ट्रको लागि अन्तिम लडाई अभियानका संयोजक नरीन सुब्बाले इतिहासदेखि वर्तमानसम्म नेपालको अस्तित्व मेटाउन विदेशीहरु लागि परेको र २०६३ मा राजसंस्था फालेपछि उनिहरु थप हौसीएको बताए । सुब्बाले परिवर्तनका नाममा दशेको स्वधिनता र सम्प्रभुता दलहरुले विदेशीको पाउमा चढाएर नाम मात्रैको नेपाली भएको आरोप लगाउँदै भने,“संघीयता देश विखण्डन गर्न, धर्म निरपेक्षता संस्कृतिमाथि हमला गर्न, गणतन्त्र राष्ट्रिय स्वाधीनता लिलाम गर्न र समानुपातिकसहितिको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको लागि संविधानमार्फत थोपरिएका विदेशी एजेण्डा थिए ।”
नेकपा (माओवादी केन्द्र)का युवा नेता विमल अधिकारीले जेनजी बिद्रोहले सुशासन र भ्रष्टाचार मुक्त समाजको तथा राजनैतिक स्थायीत्वका लागि कार्यकारी प्रमुखको एजेण्डा बोके पनि यही अवस्थामा सो सम्भव नदेखिएको बताए ।
आयोजक नेपाल राष्ट्रवादी राजनीतिक मञ्चका संयोजक ठमान सिंह तामाङ(टिएस)ले ‘अब यस राष्ट्रिय संकटको घडिमा जेनजी र नेपाली जनताको मुख्य अभिभाराहरु के–के हुन् त ?’ भन्ने विषयमा आफ्नो विस्तृत अवधारणा प्रस्तुत गरेका थिए । सो अवधारणामा देशको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय साशकीय व्यवस्थासहितको नयाँ संविधान आवश्यक भएको बताए । सो कार्यक्रममा मञ्चका संरक्षक दान बहादुर विष्ट र केन्द्रीय सदस्य मनु बुढाथोकी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता जगदिश खड्कालगायतको उपस्थिति रहेको थियो ।