
काठमाडौँ । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै सुशीला कार्कीविरुद्ध नाराबाजी भएको छ । मनपरीरुपमा मन्त्री नियुक्त गर्न लागेको भन्दै युवाहरुले मध्यरात बालुवाटारमा नाराबाजी गरेका हुन् ।
आफूलाई जेनजी आन्दोलनको अगुवा भन्दै आएका सुधन गुरुङको समूहले गएराति बालुवाटार पुगेर नाराबाजी गरेका थिए । गुरुङले सेनासँगको वार्ताको क्रममा कार्कीलाई प्रधानमन्त्री नभए फेरि सडकमा आउने भन्दै चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीको कुर्सीमा बसेको २४ घण्टा नबित्दै उनै गुरुङ एक हुल युवा लिएर मध्यरात बालुवाटा पुगेका थिए ।
कार्कीले काठमाडौँ महानगरका मेयर बालेनको प्रस्तावमा ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गर्ने तयारी गरेपछि गुरुङ विरोधमा उत्रिएका हुन् । उनले फेरि आन्दोलन गर्नु बाध्य हुने समेत चेतावनी दिएका थिए ।
‘सुशीला कार्की राजिनामा दे, मर्दामाथि राजनीति बन्द गर…’ नारा लगाएर विरोध जनाएका थिए । उनिहरुले आन्दोलनको नेतृत्व आफूहरुले गरेको तर हाइज्याक गरेर मन्त्री अरु व्यक्ति भएको भन्दै आपत्ति जनाए ।
कार्कीले अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मा दिने टुंगो लगाएकी छन् । त्यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय– भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी छन् ।
नयाँ मन्त्रीहरुकाे आज शपथ खुवाउने तयारी पनि कार्कीले गरेकी छन् । उनिहरुको नाम आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुगिसकेको छ ।