
कालिकोटको कोटबाडास्थित नन्दादेवी बहुमुखी क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्ततः स्थगित भएको छ। चुनाव स्थगित हुनुका पछाडि विभिन्न पक्षबीचको आरोप-प्रत्यारोप, निर्वाचन प्रक्रियामा भएको असहमति, र मतदाता परिचयपत्र (भोटर कार्ड) कब्जाको विवाद प्रमुख कारण देखिन्छ।
विवादको सुरुवात: फर्जी विद्यार्थी भर्नादेखि निर्वाचन समितिको असहमति
निर्वाचन पुर्व फर्जी विद्यार्थी भर्नाको आरोपले माहोल तातियो। नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (समाजवादी) निकट विद्यार्थी संगठनले करिब ६० जना फर्जी विद्यार्थीको नामावली राखेर भोटिङ प्रक्रिया प्रभावित पार्न खोजिएको सत्तारुढ दल निकट बिद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुलाई आरोप लगाए। उनीहरुको दबाबपछि फर्जी नाममाथी दावीबिरोध हुँदा फर्जी नाम हटाउन निर्वाचन समिति तयार भयो ।
त्यसपछि, निर्वाचन समितिको गठनमा पनि विवाद देखियो। अखिल (क्रान्तिकारी) र समाजवादी निकट विद्यार्थी संगठनले निर्वाचन समिति पक्षपाती ढंगले बनाइएको भन्दै त्यसको विरोध गरे। दबाबपछि नयाँ समिति गठन गरियो।
भोटर कार्ड कब्जाको आरोप र तालाबन्दी
सबैभन्दा ठूलो विवाद मतदाता परिचयपत्र (भोटर कार्ड) वितरणमा रह्यो। भोटर कार्ड वितरणका क्रममा नेविसंघ र अनेरास्ववियुको गठबन्धनले करिब ३२५ विद्यार्थीको कार्ड कब्जा गरेको आरोप विपक्षी विद्यार्थी संगठनको छ — जसमध्ये २०० बिद्यार्थीको भोटर कार्ड नेविसंघ र १२५ भोटर कार्ड अनेरास्ववियुले लिएको अखिल क्रान्तिकारीले जनाएको छ।
अखिल क्रान्तिकारीका उम्मेदवार यशोदा शाहीले भोटर कार्ड लिने क्रममा गठबन्धनले विद्यार्थीलाई नरहरिनाथ ३ को डाडामाडु बोलाएर भोट दिनका लागि १ हजारदेखि २५०० रुपैयाँसम्मको प्रलोभन दिएको दाबी गरिन्। भोटर कार्ड फिर्ता गराउन र निष्पक्ष चुनाव सुनिश्चित गर्न माग गर्दै अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेको बताइन ।
निर्वाचन स्थगनको निर्णय
यस विषयमा दलका प्रतिनिधि, विद्यार्थी संगठन, र निर्वाचन समितिबीच गएराति ९ बजेसम्म छलफल भए पनि कुनै सहमति भएन। अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी संगठन नयाँ कार्ड वितरण गर्नुपर्ने पक्षमा रहे । नेविसंघ र अनेरास्ववियुले पुराना कार्डबाटै भोटिङ प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेपनि कब्जा गरिएका कार्ड फिर्ता नगर्ने पक्षमा अडिग रहे ।
स्थिति बिग्रँदै गएपछि क्याम्पस प्रशासनले शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र प्रहरी बलसमेत परिचालन गर्यो। तर, कुनै निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन समिति र क्याम्पस प्रशासनले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गर्ने निर्णय गर्यो।
कसको आरोप कति जायज?
दुवै पक्षले एकअर्कामाथि गम्भीर आरोप लगाएका छन्। नेविसंघ र अनेरास्ववियुले अखिल (क्रान्तिकारी)ले हारको डरले तालाबन्दी गरेको भनेका छन्, भने अखिल (क्रान्तिकारी)ले भोटर कार्ड कब्जा र पैसाको चलखेल भएको दाबी गरेको छ।
स्ववियु निर्वाचन विद्यार्थीहरूको नेतृत्व विकास गर्ने मञ्च हो, तर दलगत राजनीतिले यसलाई विकृत बनाएको देखिन्छ। यो घटनाले विद्यार्थी राजनीतिमा नैतिकता खस्कँदै गएको संकेत गर्छ।
अब क्याम्पस प्रशासनले निष्पक्ष निर्वाचन गराउने वातावरण बनाउन पहल गर्नुपर्ने देखिन्छ। यदि दलहरूबीच सहमति भएन भने यो क्याम्पसमा विद्यार्थीको आवाज प्रतिनिधित्व गर्ने निकाय लामो समयसम्म रिक्त रहन सक्छ।