पोखरा । कास्की क्षेत्र नं २ बाट रबि लामिछानेका लागि एकाबिहानै दुखद खबर प्राप्त भएको ।
कास्की-२ मा रविका उम्मेदवारलाई हराएर प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।
उनका निकतम प्रतिद्वन्द्वी रवी लामिछानेको पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।
यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो ।
सुरुवातमा कँडेलले लामो समय अग्रता लिएका थिए तर अन्तिम समयमा लगातार भोट बिद्याको पक्षमा आएपछि उने ४ हजार मतले हारेका हुन् ।
यस्तै भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए ।
नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।
यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो । तिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभिन्न साना दलहरूको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।