काठमाडौँ । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मतमध्ये ओलीले ३२१२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् । हल्दिबारी लिङ्देनको प्रभाव रहेको गाउँपालिका हो ।
यता काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।
चालिसेले १ हजार ८३७ मत ल्याउँदा राईले १ हजार ५३६ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।
यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन् । १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत पाएका छन् ।
तेस्रोमा माओवादी केन्द्रकी ओनसरी घर्ती २४६ मत पाएकी छिन् । चौथोमा राप्रपाकी कुन्ती देवी पोख्रेलले २२२ मत पाएकी छिन् ।