बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।
राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उता पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।
६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।
त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।
दोहोर्याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।