काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखले सपथ लिने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
आइतबार राष्ट्रपतिले सातवटै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन् । रिक्त प्रदेश प्रमुख सत्तारुढ (नेकपा)को सचिवालयले सोमबार नै पार्टीका नेताहरुलाई प्रदेश प्रमुख बनाउने टुंगो लगाएको थियो । पार्टीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ , झापाका विष्णु प्रसाईं प्रदेश ३, चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस आएलगत्तै सोमबार नै राष्ट्रपति कार्यालयले सातै जना प्रदेश प्रमुखलाई नियुक्त गरेको जानकारी दिएको थियो । आज उनीहरुले सपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले शीतलनिवासमै प्रदेश प्रमुखलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । सपथसँगै प्रदेश प्रमुखले जिम्मेवारी समाल्नेछन् ।