काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता सुरु भएको छ । दुईदिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसहित चिनियाँ उच्च अधिकारी र नेपाली टोलीबीच बार्ता सुरु भएको हो । नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
बार्ता सोल्टी होटलमा जारी छ । वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।
यसअघि राष्ट्रपति सीले (नेकपा) नेताहरुलाई सामुहिक भेटेका थिए ।
राष्ट्रपति सीसँग भेट्न (नेकपा) अध्यक्ष प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरू होटल सोल्टी पुगेका थिए । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ ।
नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी आजै १ बजे स्वदेश फिर्ता हुनेछन् ।
शनिबार नै सीले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।