काठमाडौं । सबैतिर दशैंको टीका चलिरहेको थियो । तर राकेश शर्माको घरमा भने सुनसान थियो । दशैंको टीका लगाउन छोडेर राकेशले श्रीमती र छोरीको हत्या मात्रै गरेनन् आत्महत्या समेत गरे ।
सुनसरीको इटहरी-१७ मा मंगलबार राकेशसहित श्रीमती र छोरी मृत भेटिएका छन् । प्रहरीका अनुसार राकेश झुन्डिएको अवस्थामा फेला थिए भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानले राकेशले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएर आत्महत्या गरेका हुन् । राकेशलाई उपचारको लागि धरान पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
आफन्तले राकेशको कोठामा लासलाई बेर्न कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा श्रीमती पुनमको लास भेटिएको थियो भने ६ वर्षकी छोरी स्वस्तीकाको लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको थियो । श्रीमतीको टाउकोमा प्रहार गरेको र छोरीको टाउको लुलो अवस्थामा रहेकोले मुन्टो बटारेर मारेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
छिमेकीका अनुसार राकेश र पुनमको लामो समयदेखि विवाद रहँदै आएको भने पनि पछिल्लो समय राम्रो बनेको थियो । तर दशैंमा अभावबीच फेरि विवाद भए हुन सक्ने र त्यही झोकमा राकेशले आमा छोरीको हत्या गरेर आत्महत्या गरेका हुन सक्ने अनुमान गरिएको छ ।
राकेशका अन्य दुई छोराछोरी हजुरबासँग बस्ने भएकोले बचेका छन् ।