सल्यान । रोकिराखेको टिपर पल्टेर एक जनाको मृत्यु भएको छ भने घटनामा ३ जना घाइते भएका छन् ।
शारदा नगरपालिकाको कार्यालय खलंगा नजिकै सल्यान सुर्खेत सडकको कालोपत्रेमा बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नं.को टिपर रोकिराखेको अवस्थामा पल्टिएको हो ।
रोकेको टिपर आफैँ चलेर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षिय रामकली विकको घटनास्थलमै ज्यान गएको छ ।
घाइते हुनेमा सडकमा काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षिय मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । टिपर सडकमा बालुवा झार्ने काममा प्रयोग भएको थियो । टिपर रोक्ने र कामदारले बालुवा झार्ने काम गर्थे । सोही क्रममा चालक टिपरबाट झरेको बेला टिपर ब्याक भएर पल्टिएको हो ।
रामकली विक पानी पिउन भनेर टिपरको झ्याल खोलेर भित्र बोतल खोज्दा गाडीको ब्रेक छोइएर गाडी ब्याक भएको थियो । गाडी ब्याक भएर सडक तल खसेर उनले ज्यान गुमाएको प्रहरीको भनाइ छ । बालुवा निकाल्ने अन्य ३ जना भने पछाडि भएकाले उनीहरु घाइते मात्र भएका छन् ।