काठमाडौं । आज इद उलफित्र । इस्लाम धर्मावलम्बीहरुले विश्वभर धुमधामसँग मनाइरहेका छन् । एक महिनादेखि रमदानको अबसरमा बसेको बर्त आज औपचारिक रुपमा इद मनाएर समापन गरिँदैछ ।
इदको अबसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रको शुभकामना दिएका छन् । त्यसैगरी विभिन्न राजनीतिक पार्टीका नेताहरुले पनि शुभकामना सन्देश दिँदै सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले बुधबार एक शुभकामना सन्देश जारी गर्दै इदले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्त्वपूर्ण भूमिका रहने बताएकी छन् ।
इल उलफित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले रमदानको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको माग देखाएको उल्लेख गरेका छन् । उनले नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताएका छन् ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति गरेको उल्लेख छ ।