
सान्नीत्रिवेणी, कालिकोट – नेकपा (माओवादी केन्द्र) सान्नीत्रिवेणी गाउँपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रम २०८१ फागुन २२ र २३ गते सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष हर्कबहादुर ऐडीको अध्यक्षतामा तथा कर्णाली प्रदेशका सह–इन्चार्ज महेन्द्रबहादुर शाहीको विशेष उपस्थितिमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
६ महिने अभियान प्रभावकारी बनाउने तयारी
बैठकमा कमरेड महेन्द्रबहादुर शाहीले पार्टीको ६ महिने अभियानबारे मार्गदर्शन गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्। साथै, अभियानलाई सफल बनाउन वडा स्तरसम्मका बैठक र प्रशिक्षण कार्यक्रमको तालिका समेत तय गरिएको छ।
नयाँ पार्टी सदस्यता वितरण अभियान
बैठकले पार्टी संगठन विस्तारलाई तीव्र बनाउन नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रत्येक वडामा निश्चित सङ्ख्या तोकी नयाँ सदस्यता वितरण गरिनेछ, जसअनुसार वडा १ मा ३०, वडा २ मा ३५, वडा ३ मा २०, वडा ४ मा ४०, वडा ५ मा २०, वडा ६ मा ४०, वडा ७ मा २५, वडा ८ मा २५ र वडा ९ मा २५ जना नयाँ सदस्यलाई पार्टी सदस्यता दिइनेछ।
स्ववियु निर्वाचनलाई सफल बनाउन सक्रियता
बैठकले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई सफल बनाउन पार्टी एकताबद्ध भएर लाग्ने निर्णय गरेको छ। पार्टीको भातृ संगठन अखिल ( क्रान्तिकारी) का उम्मेदवारलाई निर्वाचनमा जिताउन आवश्यक रणनीति बनाउन र संगठनलाई सशक्त बनाउँदै अघि बढ्न निर्देशन दिइएको छ।
टोल, सेल, तथा जबस मोर्चा कमिटी गठन
पार्टी संगठनलाई मजबुत बनाउन प्रत्येक वडा र टोलमा चैत १५ भित्र टोल, सेल, तथा जबस मोर्चा कमिटी गठन गरिनेछ। संगठन विस्तारलाई थप प्रभावकारी बनाउन बैठकले यो निर्णय गरेको हो।
बैठकमा केन्द्रीय सदस्य गंगा खड्का बोगटी, वैकल्पिक केन्द्रीय सदस्य जनकनाथ योगी, प्रदेश सदस्यहरू डम्बरबहादुर शाही, मिठ्ठुदेवी बम, भरतबहादुर विक, मोहनबहादुर केसी लगायत नेताहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष हर्कबहादुर ऐडीले बैठक समापन गर्दै ६ महिने अभियानलाई सफल पार्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आग्रह गरेका छन्।