
बिरेन्द्रनगर ।
बिरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले टोलका युबराज रिजालको घरमा अज्ञात स्थानबाट आएको गोलीले छाना छेडेर घरभित्र खसेको छ।
शनिबार बिहान करिब ८ बजेको समयमा युबराजकी श्रीमती टीका रिजाल नास्ता पकाउने तयारीमा थिइन्, सोही बेला एक्कासि ठूलो आवाज सहित गोलीले टिनको छाना छेड्दै प्लास्टिक र फिउस (एलुमिनियम) को बाटा छेडेर भुइँमा खसेको हो।
टीका रिजालका अनुसार, उनी चुलोमा नास्ता पकाउँदै थिइन्, त्यत्तिकैमा ठूलाे आवाज आएपछि बाटा छेडिएको देखेकी थिइन्। प्रारम्भमा थाहा नभए पनि छिमेकीलाई खबर गरेपछि मात्र त्यो आवाज गोलीको भएको पत्ता लागेको उनले बताइन्।
घटनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीका अनुसार गोली फेला पारिएको छ र आवश्यक मुचुल्का तयार गरी बरामद गरिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म गोली कसले र किन चलाएको भन्ने स्पष्ट भइनसकेको र घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।