आज :

विप्लवको ताजा अन्तरवार्ताः शान्तिपूर्ण कार्यक्रम रोके केपी-प्रचण्डका कार्यक्रम पनि चल्न सक्ने छैनन्

गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा गर्नुभयो । राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता हुनुको कारण के हो ?

यसको पहिलो कारण त हाम्रो पार्टीका नेता, कार्यकर्ता, सदस्य कमरेडहरूले जनता र देशका पक्षमा अथक रूपमा गरिरहनुभएको इमानदारीपूर्ण मेहनत हो । दोस्रो कारण आम जनता वर्तमान दलाल पुँजीवादी सत्तासँग सहमत छैनन् भन्ने हो । तेस्रो कारण कम्युनिस्ट भनिने सामाजिक दलाल पूँजीवादी सरकारले जनता र देशको हितमा काम गरिरहेको छैन र जनता यससँग पनि खुसी छैनन् भन्ने हो । चौथो, जनता हाम्रो पार्टीले अगाडि सारेको दलाल पुँजीवादी सत्ताको सट्टा वैज्ञानिक समाजवादी राज्यसत्ता र एकीकृत जनक्रान्तिसँग सहमति राख्छन् भन्ने हो । यी यस्ता कारणहरू हुन् जसले पार्टी पुनर्गठन दिवस भव्य रूपले सम्पन्न भयो ।

दुईतिहाइ बहुमतको सरकार बन्दा पनि यो राज्यले जनताका पक्षमा कुनै काम गर्न नसक्ने मात्र होइन, दिनदिनै बदनाम भइराखेको छ । यसलाई कसरी हेरिराख्नुभएको छ ?

ठीक भन्नुभयो । संसदमा कुन पार्टीले कति सिट जित्यो, बहुमत कसको भयो, कस्तो बहुमत भयो भन्नेद्वारा जनता र देशका पक्षमा काम हुने–नहुने फैसला हुँदैन । यो कुन वर्गको सत्ता हो र यसले कसको हित र सेवामा काम गर्छ भन्ने कुरा मुख्य हुन्छ । सत्ताले जहिले पनि आफूभन्दा माथि वर्गस्वार्थलाई राखेको हुन्छ । नेपालमा श्रमिक वर्गीय सत्ता वैज्ञानिक समाजवाद नभएपछि यसले जनता र देशको हितमा काम गर्ने त कल्पनै भएन । यो प्रगतिशील पुँजीपति वर्गको सत्ता पनि नभएपछि पुँजीवादी सत्ताले जति सुधारको काम पनि जनताका पक्षमा गर्न नसक्ने भयो । यो दलाल पुँजीपति वर्गको सत्ता हुनुका कारण यसले साम्राज्यवादी शक्तिहरूको स्वार्थअनुकूल काम गर्नुपर्छ भने नेपालमा उनीहरूका जुठोपुरो चाट्ने दलालहरूको हितमा काम गर्नुपर्छ । त्यसको परिणाम यस्तै हुन्छ ।

पुनर्स्थापित संसदीय व्यवस्था फेरि विफल भएको अवस्थामा पार्टीले के सोचिरहेको छ ?

दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गर्नु र त्यसको ठाउँमा श्रमिक वर्गीय सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नु पार्टीको मूल उद्देश्य हो । त्यसका लागि सही विचार निर्माण गर्नु, कार्यदिशा र योजनाहरू निर्माण गर्नु, जनतालाई त्यसका पक्षमा सङ्गठित र परिचालित गर्नु साथै क्रान्तिलाई अविराम अगाडि बढाउनु हाम्रो जिम्मेवारी हो । शान्तिवार्तामा हामीलाई धोका भएपछि नै हामी निरन्तर क्रान्तिमा अगाडि बढिरहेका छौँ ।

यसअघि भारतीय हस्तक्षेप एकलौटी थियो । अहिले पश्चिमाहरूको पनि प्रत्यक्ष सहभागिता देखिएको छ । यसले नेपालको राजनीतिमा कस्तो प्रभाव परेको देख्नुभएको छ ?

सही भन्नुभयो । केही समययता पश्चिमा शक्तिहरूको हस्तक्षेप र प्रभाव देशमा बढेको छ । तर यो एकदमै नयाँ होइन । यसलाई साम्राज्यवादी—उत्तरसाम्राज्यवादी शक्तिहरूको आपसी खिचातानीको सार्वभौमिक आयाम मान्न सकिन्छ । पुँजीपति वर्ग विश्व–पुँजीवादी व्यवस्थाको नेता भए पनि यही वर्गभित्रैका विभिन्न समूहहरू बजार नियन्त्रण र मुनाफा कुम्ल्याउने सङ्घर्षमा दुस्मनीपूर्ण प्रतिस्पर्धा गरिरहन्छन् । नेपाल हालसम्म पनि विभिन्न पुँजीवादी तत्वहरूको प्रतिस्पर्धा गर्ने र प्रभाव बढाउने स्थल बनेको छ । पश्चिमा हाबी भएजस्तो देखिनुमा समकालीन विश्वराजनीतिमा नेपालको सामरिक महत्व बढ्नु हो । चीन र भारत यसका कारणमा छन् । यद्यपि नेपालको प्राकृतिक सम्पदा पनि यसको कारणमा छ ।

देशमा वैदेशिक हस्तक्षेप र देशीय प्रतिक्रियावादीहरूको साँठगाँठमा अर्को प्रतिगमन हुने सम्भावना भनिन्छ, के देख्नुभएको छ ?

यसलाई पूरै इन्कार गर्न सकिँदैन तर नेपाली जनताको क्रान्तिकारी एवम् परिवर्तनकारी चरित्रका कारण यो सम्भावना कमजोर छ । यसको तुलनामा राज्यको असफलतालाई वैज्ञानिक समाजवादी क्रान्तिद्वारा जनताको सत्ता निर्माणको सम्भावना मुख्य देखिन्छ । जनता नै जुनकुनै परिवर्तनका मुख्य आधार शक्ति हुन् । यसरी भन्दा नेपाली जनताले दलाल पुँजीवादबाट पनि पछि फर्किन मान्लान् भन्ने लाग्दैन ।

विभिन्न क्रान्तिकारी पार्टीहरूका बीचमा एकताको प्रयास गरिरहनुभएको छ भनिन्छ, यसका बारेमा बताइदिनुस् न ?

हो, हाम्रो पर्टीले सबै क्रान्तिकारीहरूसँग चाहे पार्टी होऊन्, चाहे व्यक्तिसँग एकता गर्ने नीति लिएको छ र दिन–प्रतिदिन भई पनि राखेको छ । हालैका दिनमा निकै महत्वपूर्ण व्यक्तित्वहरू कमरेड दीर्घ पाण्डे, कमरेड नरबहादुर कार्कीलगायतसँग एकता भयो । कैयौँ क्रान्तिकारीहरूसँग छलफल चलिरहेको छ । जसले दलाल पुँजीवादी सत्ताविरुद्ध विद्रोह गर्न आफूलाई तयार गर्नुभएको छ, उहाँहरुसँग एकता भइरहेको छ र हुुँदै जानेछ ।

हाम्रो विशेष आग्रह छ– सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ । नेकपा (एमाले—माके) भित्रका इमानदार कमरेडहरूले पनि यसबारेमा सोच्नुपर्छ । जहाँसम्म संस्थागत ढङ्गले एकताको कुरा हो क्रान्तिकारी माओवादी, माओवादी केन्द्र, नेकपा (ऋषि कट्टेलले नेतृत्व गर्नुभएको) जस्ता पार्टीहरूका बीचमा पार्टीएकताबारे छलफल भइरहेको छ तर टुङ्गो लागेको छैन । एकताका पक्षमा वातावरण बनाउन संयुक्त मोर्चामा भए पनि काम गरौँ भन्ने हाम्रो दृष्टिकोण छ ।

केपी—प्रचण्डहरूले कम्युनिस्टहरूको बदनाम गरिरहेका छन् भनिरहनु भएको छ, यस्तो स्थितिमा उनीहरूको प्रतिवाद कसरी गर्ने सोच्नुभएको छ ?

कम्युनिस्ट हुनु राम्रो कुरा हो तर कम्युनिस्ट भएर जनताका बैरी दलाल पुँजीपति वर्गलार्ई सहयोग गर्नु नराम्रो कुरा हो । केपी—प्रचण्डहरूले वास्तविक कम्युनिस्ट विचार, पार्टी र सरकारको नेतृत्व गरिरहेका छैनन् । यी नाम मात्रका कम्युनिस्ट, व्यवहारजति सबै पुँजीपति वर्गकै भएका तत्वहरू हुन् भन्ने जनताले बुझ्दै गएका छन् । हाम्रो जोड विभिन्न तरिकाद्वारा, छिटोभन्दा छिटो, धेरैभन्दा धेरै जनतालाई नक्कली कम्युनिस्टबारे विचार दिने, उनीहरूलाई परास्त गर्ने, सबैतिर छरिएर रहेका क्रान्तिकारी एवम् कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने र दलाल पुँजीवादी सत्ताका विरुद्ध क्रान्तिलाई निर्णायक बनाउनेतिर नै जोड हुन्छ । हामीले यो काम निरन्तर गर्दै पनि आएका छौँ ।

सरकारले वार्ता टोली बनायो तर तपाईंहरूले वास्तै गर्नुभएन भन्ने छ नि ?

यो एकदमै भ्रामक र दुर्नियतपूर्ण प्रचार हो । सरकारले विभिन्न सञ्चारमाध्यम र मञ्चहरूमा वार्ताको हल्ला मच्चायो, अमूर्त वार्ताको प्रचार गर्यो तर हामीलाई वार्ताबारे कुनै पनि आधिकारिक एवम् जिम्मेवारीपूर्ण जानकारी छैन ।

सरकारले फेरि प्रवक्ता प्रकाण्ड, जीवन्तलगायत नेतालाई वारेन्ट गरिएको छ भने गिरफ्तारी पनि सुरु गरेको छ । यसबारे के भन्नुहुन्छ ?

हो, केपी—प्रचण्डको सरकारले दमन बढाएको छ । यसले के स्पष्ट गर्छ भने उनीहरूले वार्ताको अमूर्त हल्ला जसरी चलाए, त्यो पनि समस्यालाई हल गर्नका लागि गम्भीरतापूर्वक गरेको पहल नभई जनताको आँखामा छारो हाल्न र दमन गर्नका लागि गरिएको जाल मात्र थियो । हामीले उचित ध्यान नदिएको भए वार्ताको आडमा कैयाँै देशमा (भारतमा कमरेड आजादको निर्मम हत्या गरे) मा भएजस्तै कुनै पनि घटना हुन सक्थ्यो भन्ने स्पष्ट हुन्छ । उनीहरूको षड्यन्त्र असफल भएको छ । तर केपी—प्रचण्डले के बुझ्नुपर्छ भने हाम्रा नेताहरूलाई शान्तिपूर्ण कार्यक्रममा सहभागी बन्न दिइएन भने उनीहरूले पनि गम्भीर प्रतिरोधको सामना गर्नु पर्नेछ । उनीहरूका कार्यक्रमहरू पनि चल्न सक्ने छैनन् ।

के अब राज्यसँग युद्धको खतरा बढेको हो ?

यो पूरा सत्य हो– सरकार जनता र देशका पक्षमा कुनै पनि लोकप्रिय काम गर्न नसकेर असफल भएपछि आफ्नो कुर्सी टिकाउने नक्कली बहाना खोज्दैछ । त्यसको सबैभन्दा सजिलो तरिका भनेको बनावर्टी द्वन्द्व मच्चाउनु हो । श्रमिक जनतालाई युद्धको भुमरीमा पार्नु हो । तर हामीले भनेका छौँ– देशलाई युद्ध चाहिएको छैन, शान्ति चाहिएको छ । तर दलाल पुँजीवादी सत्ता रहेसम्म शान्ति र समृद्धि सम्भव नभएकाले यसलाई फ्याँक्ने क्रान्ति चाहिएको छ । क्रान्तिपछिको वैज्ञानिक समाजवादले मात्र जनतालाई वास्तविक अर्थको शान्ति दिनसक्छ । हाम्रो पार्टीले त्यसैका लागि मेहनत गरिरहेको छ ।

क्रान्ति सम्पन्न नहुँदासम्म जनताका पक्षमा कसरी काम गर्नुहुन्छ ?

हामीले दृढ अठोट गरेका छौँ– हाम्रो जीवन श्रमिक जनता र देशका लागि हो । हामीले जे–जति दुःख, कष्ट, त्याग र मेहनत गरेका छौँ त्यो सबै जनताकै हितका लागि हो । दलाल पुँजीवादी सत्ताका विरुद्ध जनसत्ताहरू सङ्गठित गरेर, जनताका समस्याहरूमा हातेमालो गरेर, देशको सार्वभौमिकताको रक्षा गर्न लडेर काममा समर्पित हुनेछौँ । हेर्नुस्, हामीले जनताको मुक्तिकै लागि भनेर सबै त्याग गरेका छौँ । जनताले यो कुरा बुझेका छन् र एक दिन जनता र हाम्रो बलमा दलाल पुँजाीवादी सत्तालाई समाप्त पार्नेछौँ ।

काङ्ग्रेस, राप्रपालगायत पार्टीले सरकारको असफलतलाई कम्युनिस्टकै असफलता भन्दै हिँडेका छन् नि ?

यो जनतालाई भ्रमित पार्ने प्रचार हो । न केपी—प्रचण्डहरू कम्युनिस्ट हन्, न त उनीहरूको असफलता नै कम्युनिस्टहरूको असफलता हो । केपी—प्रचण्डहरू भनेका त क्रान्ति गर्न सकिँदैन, पुँजीवादी संसदीय व्यवस्थामै सरकारसम्म बनाएर पुँजीवादीकै सेवा गर्छौं भनेर आत्मसमर्पण गर्न पुगेका विचलित तत्वहरू हुन् । संशोधनवाद भनेको पुँजीवादी सत्ताकै एक भाग हो । जहाँसम्म उनीहरूको असफलताको कुरा छ त्यो सरकारको मात्र असफलता होइन, अपितु दलाल पुँजीवादी सत्ताकै असफलता हो । यो सत्ता रहेसम्म जो सरकारमा गए पनि यस्तै हुने हो । काङ्ग्रेस पनि असफल भइसकेको पार्टी होइन र ! परिवर्तन सरकारको होइन, सत्ताको आवश्यकता छ । जनताले यो बुझ्नुपर्छ ।

पछिल्लो समयमा देशभित्र धार्मिक अतिवाद देखापरिराखेको छ । यसका बारेमा पार्टीको धारणा राखिदिनुस् न !

यो धेरै चिन्ताको विषय हो । मध्ययुगको अन्त्यदेखि उन्नाईसौँ शताब्दीसम्म जनताले दुत्कारेको धर्मको विषयलाई नेपालमा आज जनता विभाजित पार्ने र भिडाउने खेलमा प्रयोग गरिँदैछ । धर्म भनेको जनतामाथि शोषण र शासन गर्ने हतियार हो । शासकहरूले आफ्नो अत्याचार, उत्पीडन र दमनलाई सही साबित गर्न, आफूलाई भगवान्को दूत बताएर जनतामाथि अमानवीय लूट मच्चाउन प्रयोग गरेको हतियार हो धर्म । अत्यधिक श्रमिक जनताको भाग्य भत्केको देखाएर आफूलाई भाग्यमानी देखाउन शासकहरूले धर्मलाई प्रयोग गरे । धर्म जुनसुकै होस् सबै एकै हुन् ।

हिन्दु, क्रिस्चियन, मुस्लिम, बौद्ध सबैको एउटै सार हो– भगवान्, प्रभु, अल्लाह देखाएर जनतालाई लुट्ने । विडम्बनाको कुरा के भयो भने कम्युनिस्ट भन्ने केपी प्रचण्डहरूले क्रिस्चियनलाई प्रोत्साहन दिन अर्बौं रुपैयाँमा आफूलाई बेचेका छन् । यहाँ हिन्दुको सट्टा क्रिस्चियन भएर के हुन्छ ? के युरोपलाई मध्ययुगमा पोपको गिर्जाघरले जङ्गली, दानवी शासन गरेको होइन ? पोप र पादरीहरूलाई जनताले लखेटेर राजनीति गर्न नपाउने बनाएर थन्क्याइदिएका होइनन् ? अनि नेपालमा यी आएर के नयाँ हुन्छ ! ब्रह्मा, विष्णु र रामले नपुगेर जनता ठग्न ईशु ल्याइरहेका छैनन् ! यो सब दलाल पुँजीपतिवर्गले आफ्नो राज चलाउन चालिरहेका झेल हुन् । हामीले जनतालाई स्पष्ट पार्नुपर्छ– धर्म, भागवान्, ईश्वर सब नभएका झूट, बकबास र कल्पना हुन् । यी जनताको दिमाग समाप्त पार्ने विष हुन् । यसको भ्रममा पर्नु हुँदैन । हामीले ज्ञान र विज्ञानमा विश्वास गर्नुपर्छ ।

अरू केही भन्नुहुन्छ कि ?

मैले पार्टीका धारणा राख्न पाएकोमा धन्यवाद !

  • रातोखबरबाट

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal