
काठमाडौं । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च अहोदामा रहेका हरेक व्यक्तिहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलनको घोषणा गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरोले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलनको चेतावनी समेत दिएको छ ।
पार्टीका ३ नम्बर ब्यूरो इन्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ले देशको मुख्य दुश्मन भ्रष्टाचार रहेको र उच्च अहोदाका व्यक्तिहरु नै त्यसको कारक भएको आरोप लगाएका हुन् । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माईतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।
देशलाई समृद्ध तथा जनताको जीवन स्तर माथि उठाउन प्रत्येक उच्च पदस्त व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर राज्यकोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनु पर्ने धारणा राखे ।
चलाउनेले कुलमान घिसिङलाई बर्खास्त गरिनुको मुख्य कारण पनि मन्त्रीले चलखेल गर्न नपाएको आरोप लगाउँदै भने,“उर्जामन्त्री दिपक खड्का जल तथा विद्युत व्यवसायी भएको र त्यसमा घिसिङले चलखेल गर्न नदिएपछि हटाए ।” “यसरी राज्यका उच्च पदस्त व्यक्तिहरुको कुदृष्टि नै राज्यकोषमा भएपछि देश बन्छ ? भ्रष्टचारको मुहान नै यस्तै व्यक्ति भएपछि जनताको समृद्धि सम्भव छ ?” चलाउनेले प्रश्न गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरुले आन्दोलनको घोषणा गरेको जानकारी दिए ।
उक्त पत्रकार सम्मेलनमा पार्टीका काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बु, भक्तपुर जिल्ला इन्चार्ज प्रतिमा बजगाई, चितवन जिल्ला इन्चार्ज रक्तिम, काठमाडौं सेक्रेटरी दर्शन कुमार नेपालीलगायतको उपस्थिति रहेको थियो ।