
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बहुरुपी नेताको पहिचान बनाएका छन् । जनयुद्धमा जनमुक्ति सेनाको स्क्वाट टीमको कमिसार हुँदै डिभिजनन कमाण्डरसम्म पुगेका शाहीले सत्ताको कुर्सीमा पुगेपछि बहुरुपी भएका हुन् ।
मुख्यमन्त्री शाही शान्ति प्रक्रियासँगै जनमुक्ति सेनाको ब्यारेकमा बसेबाटै बहुरुपी भएको उनका सहकर्मी कमाण्डार बताउँछन् । तर, दोस्रो संविधान चुनावको बेला कालिकोटबाट निर्वाचित भएपछि बेलाबेलामा देखाउने र लुकाउने गरेको रुप अहिले खुलमखुला रुपमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताएका छन् ।
मुख्यमन्त्री शाहीले आफूले अरुलाई सिकाएको र प्रशिक्षण दिँदै आएको मूल्य मान्यता र आस्थालाई नै लज्जित हुने कार्य गर्न थालेको भन्दै माओवादी केन्द्र कर्णाली प्रदेशका नेताहरु असन्तुष्ट बनेका छन् ।
जनयुद्धकालमा ‘धर्म अफिम’ हो भन्दै स्थानीयले बनाएका मन्दीर भत्काउन निर्देशन दिने र धामीझाँक्रीको लटो ‘टुप्पी’ काट्ने सम्मका कार्य गरेका शाही अहिले आफै धामीझाँक्रीको शरणमा पर्ने गरेका छन् । उनले आफ्नो राजनीतिक रुपमा सफलता भएको भन्दै त्यसको जस चिना हेराउने, धामीझाक्रीलाई दिने गरेका छन् । मुख्यमन्त्री भएपछि उद्घाटन गर्दा धुमधामसँग पूजा गर्न लगाउने, मुख्यमन्त्री कार्यालयमै कालो बोकाको रगत हेर्ने गरेको केही समाजिक संजालमा यत्रतत्र भेटिन्छन् ।
संघीय मन्त्री भएदेखि नै मुख्यमन्त्री शाही जनयुद्धमा भन्दै गरेको सस्कार र संस्कृतिको विरुद्धमा लागिसकेका थिए । कर्णालीका दुर्गम जिल्लाहरुमा राहत वितरण गर्दा आफू हेलिकोप्टरबाट जाने तर समानभन्दा महंगो ढुवानी हुने गरेको समाचार पनि सार्वजनिक नभएका होइनन्
शाहीले कर्णाली मख्यमन्त्रीमा निर्वाचित भएपछि कालोबोका काटेर साइत हेराई निवासमा प्रवेश गरेका थिए । उनको त्यतिबेलै माओवादी नेता कार्यकर्ताहरुले आलोचना गरेका थिए । मुख्यमन्त्री भएको पहिलो आर्थिक वर्षमा मठमन्दीर निर्माणमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेका थिए ।
मुख्यमन्त्री सोखिन नेता पनि हुन् । उनलाई हेलिकोप्टरमा सवार गर्न निकै मज्जा लाग्ने गरेको उनकै सचिवालयका सदस्यहरु बताउँछन् । उनी यही भदौ ३ गते हेलिकोप्टर चार्टर गरेर बडीमालिका धाम, कालिकोटको पचालो देवताको मन्दीरमा पूजा गरेका थिए ।
हालै कालिकोटको पचालझरना गाउँपालिकाको कार्यालय भवनको उद्घाटन गर्दा पनि मुख्यमन्त्री शाहीले धामीझाँक्रीको आशिर्वाद दिएका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरल नै भएको छ ।
मुख्यमन्त्री शाहीको यस्तो रुपका कारण आफूहरुलाई जनतामा जान निकै गारो भएको माओवादी केन्द्रका कालिकोट जिल्ला नेता अनलाइन डबलीसँग बताए । उनले मुख्यमन्त्री शाहीमा आएको वैचारिक स्खलन भएको बताउँदै स्खलनको यात्रा नरोकिएको बताए ।