
कालिकोट जिल्लाको महाबै गाउँपालिकामा स्थानीय बासिन्दालाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न दुई चरणमा निःशुल्क स्वास्थ्य तथा आँखा उपचार शिविर आयोजना हुने भएको छ। उक्त शिविर जिल्ला अस्पताल कालिकोट, नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा महावु गाउँपालिकाको समन्वयमा सञ्चालन गरिने छ।
पहिलो चरण:
चैत्र २१ र २२ गते महाबै आधारभूत अस्पताल, ओदामा ६ जना विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा स्वास्थ्य शिविर सञ्चालन हुनेछ। यस शिविरमा विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ। साथै, परिवार नियोजन, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, पोषण, सरसफाइ लगायतका सेवाहरू पनि उपलब्ध हुनेछन्। गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहका अनुसार, यस पहलले दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
दोस्रो चरण:
चैत्र २६ र २७ गते हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघको आयोजनामा विशेष आँखा शिविर सञ्चालन हुनेछ। यस चरणमा आँखासम्बन्धी सम्पूर्ण सेवा, जस्तै आँखा परीक्षण, चश्मा वितरण र मोतिबिन्दुको शल्यक्रिया समेत निःशुल्क प्रदान गरिने छ। उक्त शिविर महावु गाउँपालिकाको केन्द्र नैयाडामा आयोजना गरिने छ।
ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनले आवस्यक सहयोग र सहजीकरण गरेको यस बहुस्तरीय स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष सिंहले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई निःशुल्क सेवाको लाभ लिन आग्रह गरेका छन्।