
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदलाई पूर्णाता निले अन्तिम तयारीमा जुटेका छन् । सत्ता गठबन्धन दलहरुसँग मन्त्रिको नाम मागेका देउवाले आज वा तयारी नपुगे भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने बताइएको छ ।
दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अहिले सत्ता गठबन्धनका दलहरु मन्त्री छान्न जुटेका थिए । काँग्रेसले थप तीन जनाको नाम पनि टुंगो लगाएको छ । काँग्रेसबाट दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजालको टुंगो लागेको छ भने भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये मन्त्री बन्ने भन्ने आजै टुंगो लाग्ने बताइएको छ ।
सत्ता गठबन्धनमा ६ मन्त्रालय पाएको माओवादीले ४ जनालाई सिफारिस गरेको छ । जसमा हरिबोल गजुरेल, महेश्वार गहतराज, शशि श्रेष्ठ, अन्जना विशंखे र हरि अधिकारीको नाम मोटामोटीरुपमा टुंगो लगाएको छ । माओवादी केन्द्रले यस पटक दुई नयाँ पात्र गहतराज र शशीलाई प्राथमिकतामा राखेको छ । यी दुबै पहिलो पटक मन्त्री हुँदैछन् ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले ६ वटा मन्त्रालय पाएकोमा नाम टुङ्गो लगाएर प्रधानमन्त्रीलाई बुझाई सकेको छ । एसले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठको नाम प्रधमानमन्त्रीलाई बुझाई सकेको छ । भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने छ ।
जसपाले भने अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाइ सकेको छैन । तर, राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । तर, गठबन्धन दलहरुबीच कुन–कुन मन्त्रालय क–कसले लिने भन्ने विषय टुङ्गो लागेको छैन । शुक्रबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।