आज :

बालाजु बाइसधारा मेला – मेला भर्नेहरुको आज बिहानैदेखि घुइँचो

  • अनलाइन डबली

काठमाडौंको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ ।

बालाजु काठमाडौँ  उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्दछ। यस स्थानलाई नेवारहरू ल्हुति भन्ने गर्दछन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ। किनभने त्यस फलमा रोगसँग लड्न सक्ने क्षमता छ भन्ने जनविश्वास रहिआएको छ। सर्वप्रथम बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकास मल्लले  २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि वि.सं. १८५५मा राजा रणबहादुरले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। यो धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ। त्यस्तै अर्को एक यस क्षेत्रका शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ। यही विश्वासमा यहाँ यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महाचीनबाट महामञ्जुश्री बोधिसत्व केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए। त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए। पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर “ॐ नमोरत्नत्रयाय” भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको देखिन्छ। यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ। विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई “जातमात्रोच्च” नामकरण भएको भन्ने भनाइ छ। पछि अपभ्रंश हुँदै जाँदा यही पर्वतलाई जामाच्च भन्न थालियो। महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान-साधना गरी सिद्धि प्राप्त गरेका थिए। त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुति पूणिर्माका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ।

बालाजु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिनमै यहाँका बौद्ध स्तुपमा भक्तजनहरू आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन्। भोलिपल्ट चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन्। साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन यद्यपी रहिआएको छ।

यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ। त्यसपछि केही दिनसम्म उक्त भगवतीलाई यहीँ राख्ने परम्परा छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal