
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीबाट बिदा भएर निजी निवास भक्तपुरको बालकोट जानुअघि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज (मंगलबार) दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने तयारी भइरहेको छ । ओलीले आज साँझ नभए बुधबार विहान बालुवाटार छोड्ने तयारी गरेका छन् ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै प्रधानमन्त्रीमा नेपालीँ काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएसँगै ओलीले बालुवाटार छोड्ने तयारी थालेका थिए । ओलीका सहयोगीहरुले सरसमान तयार गरिरहेको बताइएको छ ।
योसँगै ओली सरकार मन्त्रीहरुले मन्त्री क्वाटर छोड्ने तयारी गरेका छन् । सर्वोच्चले ओलीले पछिल्लो पटक गरेको मन्त्रिमण्डल विस्तार खारेज गरेपनि मन्त्रीहरु मन्त्री क्वाटरमै बसिरहेका थिए ।
सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश पनि दिएको छ ।
आजको सम्बोधनमा ओलीले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी दिने र गर्न खोजेका कामको फेरियस्त पनि सुनाउने बताइएको छ । सर्वोच्चको फैसलाबारे औपचारिक रुपमा आफ्नो धारणा पनि सम्बोधनकै क्रममा ओलीले सार्वजनिक गर्ने भएका छन् ।
आफ्नो विरुद्ध फैसला आउने संकेत पाएपछि ओलीले नेकपा एमालेको स्थायी समिति बैठक आज बोलाएका थिए । तर, सम्बोधनको तयारी गर्नुपर्ने भएकोले स्थायी समिति बैठक स्थगित गरिएको छ ।
सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने छ । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बिस्तार गर्ने समेत बताइएको छ ।