
धनगढी । बेमौसी बर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ठूलो जनधनको क्षति पुगेको छ । अझै पनि हराइरहेका व्यक्तिहरु भेटिएका छैनन् । ज्यान गुमाउनेको संख्या ३१ पुगिसकेको छ भने २३ जना हराइरहेका छन् । त्यस्तै दुई दर्जनबढी घाइते छन् ।
बाढी पहिरोबाट सबैभन्दा बढी मानविय क्षति प्रदेश नम्बर १ मा पुगेको छ भने दोस्रोमा सुदूरपश्चिम । गृहमन्त्रालयका अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको ज्यान गइसकेको छ ।
साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना हराइरहेका छन् ।
बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।
यसैबीच बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर विहीबार सुदूरपश्चिम लागे । काठमाडौँबाट सैनिक हेलिकोप्टरबाट सुर्खेत हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रधानमन्त्री देउवाले पाइला टेके ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम खबरले उत्साहित भएका पीडितले खासै राहतको महशुस गर्न पाएनन् । पीडितसँग प्रधानमन्त्री देउवाले गरेको व्यवहार र राहत र क्षतिपूर्ति घोषणा नगरिएपछि स्थानीय निरास भएका हुन् ।
प्रधानमन्त्री देउवाले पीडितले दुःख व्यक्त गर्दा उल्टै हप्काएका छन् । करिब पाँच बजे कञ्चनपुरको दोधाराचाँदनी पुगे । नगरपालिकाको वडा नम्बर ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पीडितलाई हप्काए । पीडितका बारेमा बोल्दै गर्दा प्रधानमन्त्री देउवाले सानो स्वरमा बोले । ठूलो स्वरमा बोल्न आग्रह गरेका.ती युवकलाई प्रधानमन्त्रीले उल्टै हप्काए ।
बाढी पीडित युवाले ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भन्न के पाएका थिए प्रधानमन्त्रीले माइकबाटै भनिहाले, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुुस् ।’
कार्यक्रममा सहभागीहरु भन्दै थिए, ‘प्रधानमन्त्री हामीलाई हप्काउन पो आएका रहेछन् ।’ कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले राहत र पुनस्र्थापनको प्याकेज ल्याउने बताएका थिए ।