
काठमाडौँ । आन्दोलनरत नागरिक दैनिकका पत्रकारका माग पूरा गर्न व्यवस्थापन पक्ष तयार भएको छ । आन्दोलनमा सहभागी श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीका अनुसार भदौं १४ गतेसम्म २४ जना पत्रकारहरुको बाँकी बक्यौदा भुक्तानी गरिसक्ने, सम्पादकसँग छलफल गरी स्टीञ्जरहरुलाई सम्पादकको सिफारिशमा जिल्ला संवाददाता नियुक्त गर्दै क्रमशः स्थायी गर्ने र कोभिड–१९ का बेला घर विदामा राखिएका पत्रकारहरुलाई पूर्ववत जिम्मेवारीमा फर्काउने सहमति भएको हो ।
विहिबारको धर्नामा माग सम्बोधन नभए साहुको घर घेराउ गर्ने श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जैसीले चेतावनी दिएपछि विहिबार १२ बजे नै अध्यक्ष विनोद ज्ञवालीले वार्तामा बोलाएका थिए । आन्दोलनकारी महेशकुमार दासका अनुसार ४ बुँदे माग पुरा गर्न व्यवस्थापन पक्ष लिखित रुपमा प्रतिवद्धता जनायो ।
बुधबारदेखि नागरिक दैनिक कार्यालय अगाडि कार्यालय शुरु गरिएको धर्नामा संघका अध्यक्ष जैसीसहित महासचिव धनञ्जय बुढा, केन्द्रीय सदस्य भुवन पौडेललगायतले ऐक्यवद्धता जनाएका थिए ।
धर्ना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष जैसीले नागरिक दैनिकले पत्रकारहरुलाई धेरै चोटी आन्दोलनमा निमन्त्रणा गरेको स्मण गर्दै अब वारपारको लडाई थाल्ने चेतावनी दिएका थिए । ‘खवरदार ! अब पनि मुद्धाको सम्बोधन नभए विनोद ज्ञवालीको निवास घेरिनेछ,’ जैसीले यसरी चेतावनी दिइरहँदा ज्ञवाली उनको बा १८ च ८७७७ नम्बरको निजी गाडीबाट झरेर कार्यालय प्रवेश गदैै थिए ।
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएको लगायतका ४ बुँदे माग राखी श्रमजीवी पत्रकारहरु धर्नामा बसेका थिए ।