
काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायत पाँच विपक्षी पार्टीले अध्यादेशमार्फत बजेट ल्याउनु संविधान विपरित कार्य भएको बताएका छन् । काम चलाउन सरकारले संसदमा पेश गर्नेजस्तो बजेट अध्यादेशमार्फत ल्याएको भन्दै विपक्षी गठबन्धनका नेताहरुले विरोध जनाएका छन् । उनीहरुले चुनावमा भोट तान्न पूरा हुन नसक्ने सपना बाडेको आरोप लगाएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बसेको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ । त्यस्तै, बैठकले संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई अपिल समेत गरेको छ ।
बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारवाही नगर्न सरकारलाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले एक पछि अर्को गरेर संविधानको अवहेलना र उल्लंघन गर्ने काम गरिरहेको बताइएकोछ । “देश कोरोना महमारीबाट आक्रान्त भइरहेको कठिन स्थितको दुरुपयोग गरी प्रधानमन्त्री केपी ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको छ” विज्ञप्तिमा उल्लेख छ । उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुने भपनि विश्वास लिएका छन् ।
“संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।