
काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । मंगलबार काठमाडौंमा व्यवसायिक कानुन व्यवसायी समूहले गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा श्रेष्ठले आफूहरुले जितेमा गिर्दो बारको प्रतिष्ठा र गरिमालाई माथि उठाउनेसमेत ठोकुवा गरेका छन् ।
आगमी चैत २३ गते हुने नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तासिन नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन र नेपाली काँग्रेस निकट कानुन व्यवसायी संगठनको गठबन्धनलाई चुनौति दिन आफ्नो समुह सक्षम रहेको श्रेष्ठले बताए ।
विभिन्न कानुन व्यवसायी संगठन तथा स्वतन्त्र उर्जाशील कानुन व्यवसायीहरु मिलेर ‘व्यवसायिक कानुन व्यवसायी समूह’ निर्माण गरिएको र आफू नेतृत्वको समुहमा सबै किसिमका स्वच्छ अब्बल अधिवक्तहरुको प्रतिनिधित्व भएकोले पनि जिताउन अपिल गरेका छन् ।
पूर्वमहान्यायधीवक्त समेत रहेका श्रेष्ठले आफ्नो सम्पूर्ण जीवन यही क्षेत्रमा विताएको र बाँकी जीवन पनि यही क्षेत्रमा रहेर यसको सुदृढिकणमा बिताउने बताउँदै भने,“मलाई राजनीतिक या अन्य कुनै पदमा जानु छैन, बरु मैले कानुनी क्षेत्रमा जति अनुभव गरेँ अब न्यायालयभित्रको बेथिति सुधार्ने चाहना छ ।” “अदालतमा हुने विकृति, विसंगति अनियमितता र भ्रष्टाचार विरुद्ध विशेष कार्यक्रम सञ्चालन गरिने छ, हामीले जित्नेवित्तिकै बारका हरेक इकाइहरुमा ‘फैसला अध्ययन समिति’ निर्माण गरेर कार्यान्वयन गर्ने हो ।” श्रेष्ठले थपे ।
सो कार्यक्रममा पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा.दिनमणी पोखरेलले रमन श्रेष्ठको टिमसँग सत्तासिन दुबै ठूला दलहरु निकट संगठनले पनि आत्तिएर गठबन्धन गर्नुले पनि जित निश्चित भएको बताए ।
महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्न तथा स्वतन्त्र न्यायपालिकाको संस्थागत विकास गर्न पहल गर्न ‘व्यवसायिक कानुन व्यवसायी समूह’ले जित्नुपर्ने धारणा राखे ।
सो समुहकी महिला उपाध्यक्षकी उम्मेदवार अधिवक्ता दिना श्रेष्ठ र बगमति प्रदेश उपाध्यक्षका उम्मेदवार अधिवक्त डेकेन्द्र प्रसाद सुवेदीले आफ्नो समूह हरेक हिसाबले अब्बल भएकाले पनि अफूहरुलाई भरोषा गर्न अनुरोध गरे ।
युवा अधिवक्ताहरु कपिल ढकाल, वीरभद्र जोशी, दिपक अधिकारी, राजु अधिकारी, करुणा पराजुली, मनिषा पाण्डेले रमन कुमार श्रेष्ठ नेतृत्वको समुहलाई विजयी गराउन अनुरोध गरे ।