
काठमाडौं । नियुक्ति सच्चाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको फैसलाअनुसार भनेर प्रधानमन्त्री नियुक्ति भनेपछि देउवाले संविधानको धारा ७६ (५) उल्लेख नगरेसम्म शपथ नलिने अडान राखेका थिए ।
देउवाको अडानअनुसार नै संविधानको धारा उल्लेख गरिएको थियो । त्यसपछि मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिए ।
नियुक्तिको भाषाकै कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ दिलाएसँगै ४ मन्त्रीले पनि शपथ लिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा बन्दा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेकी छन् ।
सर्वोच्च अदालतको परमादेशसँगै देउवा प्रधानमन्त्री बनेसँगै पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।