
दोलखाको प्रशिद्द मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ।प्रत्यक चैत्र पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पुजा गरेर जात्रा आरम्भ गरिने परम्परा अनुसार आज देखि रथ जात्रा शुरु भएको हो। ६ दिन सम्म चल्ने जात्रको भोलि रथारोहन र पर्सिबात रथजात्रा विधिवत शुरु हुन्छ।
त्यसपछि क्रमैसँग पिङल टोलवाट नकछेँ टोल नकछेँ टोलवाट कोर्छेटोलः कोर्छेटोलवाट टसिचाटोल टसिचाटोलवाट माथिल्लो बुद्धस्तुपा बुद्ध स्तुपाबाट दुंगलटोल हुंदै दुंगलटोलबाट पिङल टोलमा रथ पुर् याएर जात्रा सम्पन्न गरिन्छ। राजकुलेश्वरबाट स्वयम्भूमा रथ पुर्याउने निकै कठिन मानिन्छ । टासिचाको रास्नीको उकालोमा रथ तान्नुपर्ने भएकाले परदेश बसेका दोलखा बजारका व्यक्तिहरू र चेलीहरूसमेत त्यस दिन आइपुग्छन् । दोलखा बजारमा विशेष पर्व मानिने यो दिन उपत्यकाबाट नेवारी समुदायहरूको विशेष उपस्थिति हुन्छ । उक्त दिनलाई जात्राको विशेष दिन मानिन्छ ।
ठाडो खुड्किला बाटोमा रथलाई तानेर स्वयम्भू पुर्याएपछि कठिन कार्य सम्पन्न मानिने र स्वयम्भूबाट भोलिपल्ट रथलाई दुंगल टोल लगिन्छ । त्यसको भोलि पुनः पिंगलमा विश्राम राखेको रथबाट मच्छिन्द्रलाई झिकेर शुक्रबार जात्राको अन्तिम दिन रातो मच्छिन्द्रनाथलाई रथबाट निकाली विधिपूर्वक पुजा गरेर देवताको मूर्तिलाई बोकी दोलखा बजारको मूल बाटो परिक्रमा गराई डोकुलुङ्गामा देवलमा लगेर एक वर्षलाई थन्क्याउने चलन छ । ने.स. ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मच्छिन्द्र नाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख भएको पाइएकाले उक्त स्थानका शाक्यहरू प्रत्येक वर्ष जात्रामा दर्शनका लागि आउँछन् । यो जात्राका कारण पाटन र दोलखाको प्राचीन र सांस्कृतिक सम्बन्ध रहेको भनाइ स्थानीयको छ । करुणामयी, लोककल्याणकारी र सहकालको देवता ठानिने मच्छिन्द्रको रथलाई विभिन्न भागबाट आएकाहरूले तानेर धर्म कमाउने उद्देश्य राख्छन् । राजधानीमा समेत हुने यो रथ यात्रा यहाँ भने उकाली, ओराली र अप्ठ्यारा बाटाबाट तानिने भएका कारण दर्शनार्थीको घुइँचो लाग्छ। करुणा, लोककल्याणकारी र सहकालको देवता भएकाले स्थानीय महिला दिनभर निराहार बसी मच्छिन्द्रनाथको व्रत बस्छन् ।