
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ता लिन हतारो नगर्ने बरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार अध्यक्ष प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे । देउवासँग छोटो भेटपछि प्रचण्ड जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटे ।
दुबै भेटमा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा देउवाले तत्काल आफ्नो पार्टीले कुनै निर्णय नगरेको र अझै केही दिन हेर्ने बताएका थिए । स्रोतका अनुसार देउवाले प्रचण्डलाई अरुले साथ दिए आफू पनि तयार रहेको वचन दिएका छन् ।
त्यसैगरी जसपाका नेताहरुले एमाले इतरको सरकार बनाउन सकारात्मक भएको बताइएको छ । तर जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो भने ओलीसँग मिलेर सरकार बनाउन चाहिरहेका छन् । भेटलाई आज पनि निरन्तरता दिने नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले (नेकपा) को एकता प्रक्रिया नै खारेज गरिदिएपछि एमाले र माओवादी ब्यूँतिएका छन् ।
त्यसैगरी प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो सरकार बचाउन जसपासँग छलफल गरिरहेका छन् । रेशम चौधरी र संविधान संशोधन जसपाले मुख्य एजेण्डा बनाएको छ । यी बुँदामा ओलीले जवाफ दिइनसकेपनि छलफलमा सहभागी नेताहरुले भने प्रधानमन्त्री सकारात्मक भएको बताएका छन् ।