
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङ, सुनसरी र नवलपरासीका थप तीन जनाको ज्यान गएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको निधन भएकोहो ।
कानेपोखरीका ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे निधन भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । मृतक ब्लड क्यान्सरका बिरामी थिए । सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । उनी पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
सुन्दरहरैचाका ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान निधन भएको अस्पतालले जनाएको छ । उनमा ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी थिए ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान ज्यान गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर निधन भएको प्रतिष्ठानले जनाएको छ । मृतक मधुमेह र मुटु सम्बन्धी समस्याबाट पीडित थिए ।
कोरोनासँग मिल्दो लक्षण देखा परेपछि पीसीआर परीक्षण गराउँदा असोज १२ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।
त्यस्तै कोरोना संक्रमणबाट पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा निधन भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती वृद्धमा निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।
असोज १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।